म्याग्दी तोरीपानीमा टिम्मुर खेती विस्तार, उत्पादित टिम्मुर अन्तराष्ट्रिय बजारमा निकासी गरिने

520
views

म्याग्दी, २३ असार । बेनी नगरपालिका–९ तोरीपानीका कृषकलाई टिम्मुर खेती विस्तारका लागि बिरुवा वितरण गरिएको छ । टिम्मुर खेतीको अवस्था, समस्या र सम्भावनाको विषयमा सरोकारवालाहरुबीच छलफल समेत भएको छ । टिम्मुर ब्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा म्याग्दी उद्योग वाणिज्य संघले चार हजार टिम्मुरका बिरुवा उपलब्ध गराएको हो । तोरीपानीको भुमेसिद्ध टिम्मुर सञ्जालमा आवद्ध डेढ सय कृषकलाई बिरुवा वितरण गरिएको संघले जनाएको छ ।
स्थानीय गुमानसिङ बानीयाको नर्सरीमा चार हजार बिरुवा खरिद गरी कृषकहरुलाई उपलब्ध गराइएको संघका कार्यबाहक अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । टिम्मुरको उत्पादन वृद्धी गरी अन्तराष्ट्रिय बजारमा निकासी गर्ने उद्देश्यले खेती विस्तारमा सघाएको कर्माचार्यले बताउनुभयो ।
संघले एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत पछिल्लो पाँच वर्षयता तोरीपानी, नारच्याङ र दग्नामका कृषकलाई १९ हजार ५०० बिरुवा वितरण गरिएको छ । ब्यापार तथा निकासी प्रर्वद्धन

केन्द्रका उपनिर्देशक सिद्धचरण दाहालले तेस्रो मुलुकमा निकासी गरि बिदेशी मुद्रा आर्जनका लागि टिम्मुरको प्रशस्त सम्भावना देखिएकाले खेती विस्तारमा जोड दिन कृषकलाई आग्रह गर्नुभयो ।
सो कार्यक्रममा तोरीपानीका कृषकहरुलाई टिम्मुर खेती प्रबिधिको बारेमा सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले प्रशिक्षण दिनुभएको थियो । कृषक सागर बानीयाँले टिम्मुरको बिरुवा र फलको माग उच्च रहेकाले बजारको समस्या नरहेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष तोरीपानीबाट एक हजार ४०० केजी टिम्मुर निकासी भएको छ ।
कृषकहरुले टिम्मुरको बिरुवाको मूल्य बढाउनुपर्ने र निकासीका लागि अनुमती प्रक्रिया सहज बनाउन आग्रह गरेका थिए । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत बेदनाथ पन्थिले बाँझो जमिनलाई उपयोगमा ल्याउन टिम्मुर खेती उपयुक्त भएको बताउनुभयो । सो कार्यक्रमको म्याग्दी उद्योग वाणिज्य संघका कार्यालय प्रमुख दिलीप पुनले सञ्चालन गर्नुभएको थियो ।
अचार र दालमा मसलाको रुपमा प्रयोग हुने मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिम्मुर सुगन्धीत तेल र औषधी बनाउन समेत प्रयोग हुन्छ । जोमसोम, पोखरा, चितवन, काठमाडौको तारे होटलका साथै अस्टे«लीया, अमेरीका र जर्मनीमा टिम्मुर निकासी हुने गरेको छ ।