प्रदेश २ : नाम मधेश, राजधानी जनकपुर

494
views

जनकपुरधाम, ३ माघ । प्रदेश २ प्रदेश सभाको बैठकले नाम मधेश र राजधानी जनकपुर राख्ने प्रस्तावलाई दुई तिहाई बहुमतले पास भएको छ । प्रदेश सभाको सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए ।

सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको छ ।

तर अरु दलका १६ सांसदले पनि प्रदेशको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

सोमबार नै प्रदेश सभाले स्थायी राजधानी जनकपुर टुंगो लगाएको छ । पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मत दिएका थिए ।

स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सिमाना कायम हुनेछ ।