निर्मल निवासबाट देशभक्तिको सन्देश, ‘पद, प्रतिष्ठा र प्रशंसा भन्दापनि मेरो चाहना देशभक्ति-पूर्वराजा शाह

342
views

काठमाण्डौं, २३, असार । पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार निर्मल निवासमा ७१ औँ जन्मदिन मनाउनुभएको छ । विशेष कार्यक्रम गरेर ज्ञानेन्द्रले जन्मदिन मनाउनु भएको हो । पूर्वराजाको जन्मदिनको अवसरमा राजावादी संघसंस्था र सर्वसाधारणले निर्मल निवासमा पुगेर शुभकामना दिएका छन् ।
जन्मदिनको अवसरमा शुभकामना मन्तव्य सार्वजनिक गर्दै पूर्वराजाले आफ्नो चाहना देशभक्ति मात्र भएको उल्लेख गर्नुभएको छ । ‘पद, प्रतिष्ठा र प्रशंसा भन्दा पनि मैले राख्ने निरन्तरतको चाहना देशभक्ति नै हो’, शुभकामना विज्ञप्तिमा भनिएको छ । ‘आरोह, अवरोहको जीवन क्रममा मैले सात दशक पार गरेको छु, यो असारको २३ औँ दिनदेखि म ७१ वर्षको उमेरमा टेकेको छु, । यो जन्मदिनको उपलक्ष्यमा मलाई शुभेच्छा प्रकट गर्ने, शुभकामना दिने र मप्रति आस्था, भरोसा भाव राख्ने नेपाली दिदीबहीनी तथा दाजुभाइ सबैलाई म हार्दिक आभार व्यक्त गर्दछु,’ ज्ञानेन्द्रले शुभकामना मन्तव्यमा भन्नुभएको छ, ‘हाम्रा पूर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षीत हो्स, सदा समृद्धिको बाटोमा अघि बढोस् मेरो मूल चाहना र कामना यही नै हो ।’ शुभकामना सन्देशमा पूर्वराजा शाहले देश जोगाउने भावना राष्ट्रका जिम्मेवार जनप्रतिनिधिमा हुनुपर्नेमा जोड दिनुभएको छ । सँगै उहाँले राष्ट्रिय एकता कायम गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिँदै देश संकटमा पर्दा सबैले एकता प्रदर्शन गर्नुपर्ने उल्लेख गर्नु भएको छ । ‘देश जोगियोस्, जोडियोस् र विग्रह विखण्डनतर्फ नलागी सुदृढ राष्ट्रिय एकतातर्फ अग्रसर रहोस् यही नै मेरो मनोकांक्षा हो, यस्तो भावना आम नेपालीमा र खास गरी राष्ट्रका जिम्मेवार जनप्रतिनिधिमा रहोस् यही नै मेरो आग्रह हो’,ज्ञानेन्द्रको मन्तव्यमा भनिएको छ, ‘राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न हामी सबै एक जुट हुनु परेको छ, हरेक पल्ट देश संकटमा पर्दा देशवासीले देखाउने गरेको अभूतपूर्व एकताका लागि हामी सबै सधैँ नै तयार रहनु पर्दछ ।’ साथै पूर्वराजा ज्ञानेन्द्रले पूर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेको समयमा नेपालको विकास हुन नसक्दा कस्तुरी हराएको मृग झै देश शून्यतामा हराएको टिप्पणी गर्नु भएको छ। उहाँले देशमा अवसरहरु सिर्जना हुन नसक्दा निराशा बोकेर युवा शक्ति विदेशिनु परेको भन्दै यो समस्या समाधानको उपाय खोज्नुपर्ने उल्लेख गर्नु भएको छ।

‘पूर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेकै बेलामा हामी भने कस्तुरी हराएको मृग झै शून्यतामा हराई रहेका छौँ, हामी क्रियाशिल ऊर्जा बोकेर बिउँतन अब ढिला गर्नु हुँदैन’, उहाँको शुभकामना मन्तव्यमा थप भनिएको छ, ‘निराशा बोकेर विदेशिएको ऊर्जाशील युवा शक्तिलाई स्वदेशमै गरी खाने बाटो बनाइदिन उपाय खोज्न पनि हामी नै जागरुक हुनुपर्दछ ।’
उहाँले शुभकामनाको अन्तिममा नेपालीको हितमा काम नगरे नेपाल नै नरहने उल्लेख गर्नु भएको छ। ‘नेपाली हमी रहौँला कहाँ नेपालै नरहे’, भन्ने सारभूत शूत्रको स्मरण गर्न पनि सबै नेपालीलाई हार्दिक आग्रह गर्दछु’, पूर्वराजाले शुभकामना सन्देशको अन्तिममा भन्नु भएको छ ।