युक्रेन तनावः फ्रान्सका राष्ट्रपतिलाई ‘सङ्कट नबढाउने’ पुटिनको आश्वासन

453
views

बीबीसी । फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोले राष्ट्रपति पुटिनले रुसी फौजले युक्रेनतर्फको सीमामा सङ्कट नबढाउनेमा आफूलाई आश्वास्त पारेको बताएका छन् । रुसले भने सुनिश्चितता खोज्ने कुनै पनि सुझाव ’ठिक नभएको’ जनाएको छ । यो साता राष्ट्रपति माँक्रो कूटनीतिक भ्रमणका क्रममा सोमवार मस्कोमा भ्लादिमिर पुटिनसँग झण्डै ६ घण्टा बिताएर मङ्गलवार युक्रेनको राजधानी किएभ पुगेका थिए ।

अमेरिकाले रुसलाई युद्धमा तान्न खोजेको पुटिनको आरोप
युक्रेनी नेतालाई भेट्नुअघि पत्रकारहरूसँग बोलेका माँक्रोले भने, “मैले त्यहाँको अवस्था थप नबिग्रने वा नगहिरिने सुनिश्चितता सुरक्षित गरेको छु ।’“

फ्रान्स र रुसले के भनिरहेका छन ?
त्यसपछि माँक्रो बर्लिन पुगेर जर्मन चान्सलर र पोल्याण्डका राष्ट्रपतिसँग छलफल गर्दै युक्रेनको सार्वभौमसत्ताका पक्षमा संयुक्त प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैबीच युरोपेली सङ्घका विदेशनीति प्रमुख जोसेफ बोरेलले माँक्रोको रुस भ्रमणले मुडभेड रोक्न सक्ने केही सम्झौताको विन्दू देखाएको बताएका छन् ।

के रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको हो ?

फ्रान्सका एकजना अधिकारीले पत्रकारहरूसँग बोल्दै दुई नेताहरू बेलारुसबाट रुसी सेना फिर्ता गर्ने विषयमा सहमत भएको जनाएका थिए । बेलारुसमा युक्रेनतर्फको उत्तरी सीमामा रुसी सेनाहरू अभ्यास गरिरहेका छन् ।

युक्रेनी राष्ट्रपतिको आग्रह
किएभमा माँक्रोसँगको एक पत्रकार सम्मेलनमा बोलेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीले अब त्यहाँ ’वार्ताहरू अगाडि बढाउने अवसर देखिएको’ बताएका थिए ।

मस्कोमा पुटिन र माँक्रोले पाँच घण्टा छलफल गरेका थिए । त्यस क्रममा जेलेन्सीले पुटिनलाई तनाव घटाउन गम्भीर कदमहरू चाल्न आग्रह गरे ।

यतिखेर रुसले युक्रेनतर्फको सीमामा एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको भएपनि हमलाको तयारी गरिराखेको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ ।

अमेरिकी अधिकारीहरूले आइतवार रुसले पूर्ण आकारको हमलाका लागि चाहिने सेनााको ७० प्रतिशत फौज भेला पारिसकेको बताएका थिए ।