कार्यसूचीमा एमसीसी थप्ने तयारी

228
views

काठमाडौं, ४, फागुन । सरकारले प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी टेबल गर्ने तयारी भएको हो ।

मंगलबार संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीलाई राखिएको छैन । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सम्भावित कार्यसूची संशोधन हुन सक्ने बताए । ‘कार्यव्यवस्थाको बैठकमा एमसीसीबारे छलफल भयो भने कार्यसूची संशोधन हुन सक्छ’, उनले भने ।

प्रतिनिधिसभा बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बुधबार बिहान बोलाएका छन् । बुधबार साढे ११ बजे बैठक तय भएको छ।

सरकारले आफ्ना एजेन्डाहरू अघि बढाउन कार्यव्यवस्थामा सभामुख र दलहरूसँग औपचारिक आग्रह गर्ने चलन छ । कानुनमन्त्री समितिका पदेन सदस्य हुन्छन् । सरकार र संसद्बीच समन्वयकर्ताको भूमिका निर्वाह गर्ने जिम्मेवारी कानुनमन्त्रीकै हुन्छ ।