गठबन्धनको सहमतिपछि एमसीसी संसदमा पेश हुने

816
views

काठमाडौँ, ५, फागुन । अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को विषयमा साझा धारणा बनाउन बिहीबार सत्ता गठबन्धन दलहरूको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भेटवार्ता भएपछि सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक बिहीबारका लागि डाकिएको हो ।

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार, संसद् अवरुद्ध भइरहेको बेला एमसीसी टेबल गर्ने कुरा तत्काल सान्दर्भिक नभएकाले सत्तारूढ दलको बैठक डाक्न अध्यक्ष दाहालले राख्नुभएको प्रस्तावमा प्रधानमन्त्री देउवा सहमत भएपछि बैठक बोलाइएको हो ।

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच बुधबार भएको भेटवार्तामा बिहीबार सत्तारूढ दलको बैठकपछि मात्र अघि बढ्ने सहमति भएको छ । सरकारले बुधबार नै एमसीसीको प्रस्ताव सदनमा टेबुल गर्ने योजना बनाएको थियो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राजनीतिक सहमतिमै प्रतिनिधि सभाको अर्को बैठकमा एमसीसी सम्झौता पेस हुने बताउनुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकबाट बाहिरिने क्रममा उहाँले सहमतिका लागि नै बुधबार प्रस्तावअघि नबढाइएको बताउनुभयो । अर्को बैठक फागुन ६ गतेका लागि बोलाइएको छ ।

दुई दिनमा सर्वपक्षीय सहमतिमा नै प्रस्ताव अघि बढाइने बताउँदै उहाँले भन्नुभयो, “सहमतिका लागि नै हामीले एमसीसीलाई अघि बढाउन रोकेका हौँ । दुई दिनको समय छ । यसबीचमा सहमति गरेर पेस गर्छौं ।”

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) जबरजस्ती गरेर पारित गर्न नहुने बताउनुभएको छ । उहाँले देश र जनतालाई सर्वाेपरि राखेर एमसीसी सम्झौता गर्नुपर्नेमा जोड दिँदै जनतालाई अन्योलमा राखेर गरिएको सम्झौता राष्ट्रिय हितमा हुँदैन भन्नुुभयो ।