गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान

798
views

भैरहवा, ६, फागुन । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान अर्थात ’क्यालिब्रेशन फ्लाइट’ सुरु हुँदैछ ।

क्यालिब्रेशन फ्लाइट सुरु भएसँगै भैरहवा विमानस्थलको अरु उडान दिनभर ठप्प हुनेछ । निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध विमानस्थलको परीक्षणका लागि एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाइ) ले उडान सुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

भैरहवा विमानस्थलमा दैनिक २० वटासम्म उडान हुँदै आएको छ । अरु उडान बिहान र बेलुका हुनेछन् भने शनिवार क्यालिब्रेशन फ्लाइट नहुने भएकाले पुरानै तालिकाअनुसार उडान हुने प्राधिकरणले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अन्तर्राष्ट्रिय उडान भर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो हुनेछ । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा निर्माण सुरु भएको विमानस्थल कोरोना महामारी र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पाँच वर्ष लम्बिएको थियो ।

प्राधिकरणका अनुसार आउँदो जेठ दुई गते बुद्धजयन्तीदेखि विमानस्थलमा व्यावसायिक उडान सुरु गर्ने तयारी छ ।