ईटहरीमा साझा पार्टी निराश, मेयरलाई जम्मा १८१ मत

240
views

इटहरी, २३ असार । असार १४ गते भएको दोस्रो चरणको चुनावमा साझा पार्टीले उठाएकी मेयरकी उम्मेदवार तारा काफ्लेले कुल १८१ मत प्राप्त गरेकी छन् । इटहरीको निर्वाचन परिणाम साझालाई निरास पार्नेगरी आएको छ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जेठ १७ गते इटहरीमा आएर यहाँका बुद्दिजिवीसँगै विभिन्न क्षेत्रका अगुवासँग पहिलो चरण बैशाख ३१ गते भएको निर्वाचनमा ललितपुर र काठमाडौंमा अपेक्षा गरेभन्दा राम्रो परिणम हात पार्न सफल भएको र पूर्वको इटहरीमा पनि राम्रो मत पाउने आशासहित उम्मेदवारी दिने घोषणा गरेका थिए । निर्वाचनको मत परिणाम अनुसार, उपमेयरमा प्रकाशचन्द्र परियारले १७१ मत प्राप्त गरेका छन् । इटहरीका कुल २० वटा वडा रहेकोमा कुल मतदातामध्ये ५७ हजार ४७६ मत खसेको थियो ।
इटहरीमा साझा पार्टीसँगै चुरे भावर लोकतान्त्रिक पार्टीकी उपमेयरकी उम्मेदवार रुजा घिमिरेले कसैको मत पाएकी छैनन् । उनको मत शून्य छ । कप प्लेट चुनाब चिन्हमा चुनाब लडेका इटहरीका उम्मेदवारमध्ये मत नपाउने उनी मात्र हुन् । चुरे भावर लोकतान्त्रिक पार्टीकै मेयरका उम्मेदवार रामप्रसाद रेग्मीले ८ मत ल्याएका छन् । यसैगरी, स्वतन्त्रका मेयरका उम्मेदवार पानालाल चौधरीले २२ मत मात्र प्राप्त गरेका छन् । खुम्बुवान राष्ट्रिय मोर्चाका मेयरका उम्मेदवार मचिन्द्र राईले ८५ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मेयरका उम्मेदवार इन्द्रबहादुर कन्दङ्वाले ४१६ मत पाए। मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीका स्वतन्त्रबाट उम्मेदवारी दिएका मेयरका उम्मेदवार पदम तामाङ्ले १२४ मत पाए ।
नेपाल परिवार दलकी मेयरकी उम्मेदवार सीतादेवी ढकालले ८४ र राष्ट्रिय जनमोर्चाका बालकृष्ण सुवेदीले ३६ मत ल्याएका छन् । राप्रपा नेपाल, माओवादी केन्द्र, लोकतान्त्रिक फोरम नेपाल, संघीय समाजवादी दललगायतले पनि अपेक्षा अनुसार मत ल्याउन सकेका छैनन्।
निर्वाचन परिणम अनुसार, उपमेयरमा स्वतन्त्र उम्मेदवार शोभावती चौधरीले ११, नारायण दाहालले १३, कमला खतिवडाले ९१, खुम्बुवान राष्ट्रिय मोर्चाकी भद्राकुमारी राईले ८७, परिवार दलका अशोक कुमार चौधरीले १६८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गोपीमाया लिम्बुले ४२८ मत ल्याएकी छन् ।