फिफाको विश्ववरीयताक्रममा नेपाल एक स्थान तल

771
views

काठमाडौं, २३, असार । बितेको एक महिनामा दुई खेल खेल्दै एकमा हार तथा एक बराबरी नतिजा निकालेको नेपाली राष्ट्रिय फुटबल टोली फिफाको विश्ववरीयताक्रममा एक स्थान तल झरेको छ।
एसिया कप छनोटअन्तर्गत जेठ ३० मा यमनविरुद्ध घरेलु सशस्त्र प्रहरी बलको हलचोकस्थित मैदानमा गोलरहित बराबरी नतिजा निकालेको नेपाल त्यही खेलको तयारीका लागि भारतसँग खेलेको मैत्रीपूर्ण खेलमा २–० ले पराजित भएको थियो।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गत महिना जारी गरेको वरीयताक्रमको १ सय ६९औं स्थानमा रहेको नेपाल बिहीबार जुलाईको वरीयता सार्वजनिक गर्दा १ सय ७०औं स्थानमा सीमित भयो। पछिल्लो एक महिनामा खेलेका अन्तर्रा्ष्ट्रिय खेलको नतिजाका आधारमा फिफाले वरीयता सार्वजनिक गर्ने गर्छ। जसमा नेपालका लागि मुम्बईमा भारतसँग खेलेको खेल महँंगो साबित भयो।
मैत्री खेलमा नेपालमाथि विजय हासिल गरेको भारतले वरीयताक्रममा सुधार गर्ने क्रमलाई निरन्तरता दिएको छ। दक्षिण एसियाली देशमा भारत आफ्नो शीर्षता कायम राख्ने क्रममा यसपालि चार स्थानको सुधार गर्दै ९६औं स्थानमा उक्लिएको छ। १९९३ मा सयौं स्थानमा आउनु भारतको सबभन्दा राम्रो वरीयता थियो। त्यसलाई बराबरी गर्ने क्रममा मेको वरीयतामा भारत १ सयौं स्थानमा आएको थियो। जुनमा त्यही वरीयतालाई निरन्तरता दिएको भारतले यसपालि चार स्थान सुधार र्गयो। भारतीय फुटबलको इतिहासमै यो अहिलेसम्मको सबभन्दा राम्रो वरीयता हो।
दक्षिण एसियाली देशमध्ये १४ स्थानको सुधार गरेको माल्दिभ्स (१ सय ४२) दोस्रो स्थानमा रहँदा तीन स्थानको सुधार गरेको अफगानिस्तान (१ सय ५५) तेस्रो स्थानमा कायम छ। यस्तै एक स्थानको सुधार गरेको भुटान (१ सय ६४) पनि नेपालभन्दा माथि छ। नेपालभन्दा तल रहने दक्षिण एसियाली देशमध्ये बंगलादेश (१ सय ९०) ले २ स्थानको सुधार गरेको छ भने श्रीलंका (१ सय ९७) र पाकिस्तान (२ सयौं) स्थानमा छन्।
यसै गरी एसियाका ४६ देशमध्ये सात स्थानको सुधार गरेको इरान (२३) शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया (४५) तीन स्थानको सुधार गर्दै दोस्रो तथा एक स्थान तल झरेको जापान (४६) तेस्रो स्थानमा छ। नेपाल भने एसियाली देशमध्ये ३४औं स्थानमा छ।
रूसमा आइतबार सम्पन्न अन्तरमहादेशीय कपको विजेता विश्व च्याम्पियन जर्मनी विश्व वरीयताको शीर्ष स्थानमा फर्किएको छ। दोस्रो रोजाइको टोली अन्तरमहादेशीय कपको च्याम्पियन भएपछि जर्मनीले दुई स्थानको सुधार गर्दा ब्राजिल र अर्जे्न्टिना दोस्रो तथा तेस्रो स्थानमा झरेका छन्। जर्मनी शीर्ष स्थानमा दुई वर्षअघि थियो। त्यसयता फिफा विश्व वरीयताको शीर्ष स्थानमा ब्राजिल, अर्जे्न्टिना र बेल्जियमले कब्जा जमाउँदै आएका थिए।
अन्तरमहादेशीय कपमा तेस्रो स्थान हासिल गरेको पोर्चुगल चार स्थानको सुधार गर्दै चौथो स्थानमा उक्लिएको छ। यो टोलीले गत वर्ष युरोपियन च्याम्पियनसिप जित्दाको भन्दा राम्रो वरीयता हो।