युक्रेनबाट नेपालीको उद्धार सकियो, ५८४ नेपाली सुरक्षित गन्तव्यमा

719
views

काठमाडौं, २६, फागुन । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सकिएको छ । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले युक्रेनमा रहेका नेपालीहरु सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाए ।

अन्य देशको तुलनामा नेपालीहरुको उद्धार कार्य निकै छिटोछरितो भएको हो । युद्ध सुरु भएपछि युक्रेनमा रहेका नेपाली पोल्याण्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका छन् ।

पछिल्लो तथ्यांक अनुसारपोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावामा नेपाली पुगेका हुन् । हाल सम्म ५८४ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् ।

राजदुत खड्का अनुसार ३ जना नेपालीलाई भारतीय उडानमार्फत उद्धार गरिएको छ। उनीहरु भारतको नयाँदिल्ली हुँदै नेपाल आउने तयारीमा छन् । युक्रेनबाट निस्केकामध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।

करिब ३८ जनाको परिवार आफ्नो व्यवसायसहित स्थायी बसोबास गर्दे आएकाले पारिवारिक, कानुनी र व्यवहारिक कारणले युक्रेनमा रहेका छन् ।

उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष बद्री केसीले युक्रेनको युद्धमा परेका नेपालीको उद्धारका लागि नेपाली समुदायले ठूलो सहयोग गरेको बताए ।