दलहरु चुनाव केन्द्रित अभियानमा

620
views

काठमाण्डौ, ३०, फागुन । स्थानीय तहको चुनाव आउन दुई महिना बाँकी रहँदा राजनीतिक दलहरु चुनाव केन्द्रित अभियानमा जुटेका छन् । नेपाली कांग्रेसले घरघर पुग्ने अभियान सुरु गरेको छ । काँग्रेसले एक महिने अभियान थालेको हो ।

यस्तै एमालेले पनि चुनाव केन्द्रित कार्यक्रम थालेको छ । एमालेका केन्द्रीय नेताहरू देशदौडाहमा व्यस्त देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ विभिन्न जिल्लामा भएको कार्यक्रममा सहभागी भइरहनुभएको छ । केही दिनभित्रै औपचारिक रुपमा चुनाव केन्द्रित अभियान सुरु हुने एमालेले जनाएको छ ।

नेकपा माओवादी केन्द्रले पनि गाउँठाउँमा चुनाव केन्द्रित अभियान थालिसकेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु विभिन्न जिल्लाका कार्यक्रममा सहभागी भइरहेका छन् ।

नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीले पनि ठाउँठाउँमा चुनाव केन्द्रित अभियान सुरु गरेको छ । छिटै चुनावी रणनीति बनाएर अघि बढ्ने एकीकृत समाजवादीले जनाएको छ ।

जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरुले पनि औपचारिक रुपमा चुनाव केन्द्रित अभियान सुरु गर्ने तयारी गरेका छन् ।

निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि ७९ दललाई मान्यता दिएको छ । आयोगमा ११० राजनीतिक दल दर्ता भए पनि ८० दलले मात्रै दर्ताको लागि आयोगमा निवेदन दिएका थिए ।