ग्रामिण बस्तीलाई डिजिटल युगमा जोड्न टेलिकमको सेवा विस्तार

406
views

थम्मन थापा
बाग्लुङ, १६, चैत्र । मोवाईल सेवा नहुँदा सामान्य कामको लागि पनि घण्टौं हिडेर सम्वन्धित ठाउँमा धाउनु पर्दथ्यो । सञ्चार नहुँदा त्यहाँका स्थानियले निकै कठिनाई झेल्दै आईरहेका थिए । अहिले नेपाल टेलिकमले आफ्नो सेवा विस्तार गरेपछि यो समस्या हटेको छ ।

कुश्मा नगरपालिका वडा नं १४ आर्थर डाँडाखर्कमा नेपाल टेलिकमले २५ मिटर अग्लो स्थायी संरचना निर्माण गरि टुजी र थ्रीजी सेवा सञ्चालनमा ल्याएसँगै सेवाग्राही लाभान्वित भएका हुन् । टावर सञ्चालनमा आएपछि मोदी गाउँपालिका वडा नं ७ को रापु राम्जा वडा नं ८ चित्रे, आधिखोला गाउँपालिकाको अधिकांश भुभाग सँगै सिल्मी, पकुवा, आर्थर सँगै पर्वत र स्याङजाको संगम स्थलका बस्तीहरुमा सेवा विस्तारसँगै सेवाग्राही खुसी भएका छन् ।

टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्य अनुरुप आफ्नो सेवा विस्तार र स्तरोन्नती कार्यलाई तीव्र रुपमा अगाडी बढाईरहेको सन्दर्भमा उक्त स्थानमा सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

स्थानियलाई मध्यनजर गर्दै टेलिकमले अहिले टुजी मार्फत भ्वाईस र थ्रिजी मार्फत भ्वाईस अनि डाटा एकसाथ सञ्चालनमा ल्याएको उनले बताए । मोवाईल सेवा सुचारु भएसँगै मोवाईल प्रयोगकर्तालाई सहजता भएको छ शर्माले भनें “त्यहाँ रहेको टावरबाट प्राविधिक हिसाबले सेवा प्रवाहमा जटिलता भएको र धेरै भू–भागमा सिग्नल कभरेजमा समस्या थियो त्यसकारण हामीले प्राविधिक रुपमा अध्ययन गरेर सबै बस्ती र भुभाग समेटने गरि यो टावर निर्माण गरेका हौं ।’ मोवाईल प्रयोगकर्ताको समस्यालाई मध्यनजर गरि त्यहाँका स्थानिय र जनप्रतिनिधीसँगको समन्वयमा स्थायी संरचना निर्माण गरि मोवाईल सेवा सुचारु गरिएको शर्माको भनाई छ ।

टेलिकमले उक्त टावरमा छिट्टै अत्याधुनिक प्रविधिको चौंथो पुस्ताको फोरजी मोवाईल सेवा उपलब्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जनाएको छ । सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवालाई समय सापेक्ष स्तरोन्नती गर्दै लैजाने टेलिकमले जनाएको छ ।

भौगोलिक विकटता, उपकरणहरु पुर्याउन निकै कठिन परिस्थितीको सामना गर्दै टेलिकम सँगको सहकार्यमा मोवाईल सेवा सञ्चालन गरिएको कुश्मा नगरपालिका वडा नं १४ का वडा सदस्य ईन्द्र गुरुङले जानकारी दिए । पहिले डाँडाकाँडा तिर पुगेर फोन गर्नुपर्ने बाध्यता थियो अहिले यहाँ टावर निर्माण भएपछि घरमै बसेर मज्जाले कुराकानी गर्न र मोवाईल डाटा मार्फत ईन्टरनेट चलाउन सहज भएको उनले बताए ।

त्यस्तै टेलिकमले मोदी गाउँपालिका वडा नं ३ लाङदी देउरालीमा पनि टावर निर्माण गरि सेवा सुचारु गरेको जनाएको छ । उक्त स्थानमा पहिलो पटक टुजी र फोरजी मोवाईल सेवा सुचारु गरिएको नेपाल टेलिकम पर्वतका कार्यालय प्रमुख नवराज रेग्मीले जानकारी दिए ।

मोवाईल सेवा सञ्चालनमा आएपछि मोदी गाउँपालिका वडा नं ३ को देउराली भुरुङगी, लाङदी, पुर्णगाउँ, डाँडाकमेरे, झिलीबराङ, वडा नं ४ को लेसपार, क्याङ, खुँईजरी र वडा नं ५ को बाजुङका झण्डै १२ सय घरधुरी प्रत्यक्ष लाभान्वित भएको मोदी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष देबेन्द्र बहादुर क्षेत्रीले जानकारी दिए ।