स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्मै गठबन्धन-नेपाल

946
views

पर्वत, २८, चैत्र । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोही अनुसार सहमति हुने बताएका छन् ।

समाजवादी प्रेस संगठन पर्वतले सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले उम्मेदवार छनोटको मोडालिटी तय गर्न गठबन्धनमा लगातार छलफल भइरहेको बताउँदै स्थानीय तह‚ प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्मै गठबन्धन कायम रहने जिकिर गरे ।

उनले भने ‘गठबन्धनलाई लम्ब्याएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि साझा उम्मेदवार कायम गरिन्छ । संघीयता र लोकतन्त्र नै समाप्त पार्ने प्रवृत्तिविरुद्ध हामी साझा लडाइँमा छौँ,’ अध्यक्ष नेपालले थपे, ‘उम्मेदवारबारे हामी छलफलमा रहेका छौँ । ११ गतेको मिति तोकिएकाले वैशाख १० गते राति १२ बजेसम्म भए पनि उम्मेदवार तय गरिन्छ ।’

पाँच दलीय गठबन्धनको बैठकले तयार पार्ने साझा सहमतिको आधार र मोडालिटी अनुसार नै उम्मेदवारको निधो हुने पनि अध्यक्ष नेपालको भनाई छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ठूलो स्वर निकाल्दैमा डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । ओलीप्रति लक्षित गर्दै जसले गल्ती गर्छ उसैले ठूलो स्वर निकाल्ने गरेको टिप्पणी गरे ।

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ भन्नेबारे बाहिर थाहा नभए पनि आगामी निर्वाचनले त्यसको पुष्टि गर्ने उनको भनाइ छ

अध्यक्ष नेपालले नेपाली अर्थतन्त्रमा देखिएको समस्याबारे सबै राजनीतिक दलहरू बसेर साझा समस्याका रूपमा लिनुपर्ने र छलफलबाट समाधान गरिनुपर्ने उनको सुझाव छ । तर‚ अहिलेको अवस्था सिर्जना हुनुको दोषी ओली नेतृत्वको सरकार रहेको नेपालले आरोप लगाए ।