क्रोएसियामा सन् २०२३ देखि यूरो मुद्रा प्रचलनमा ल्याइने

525
views

नवदृष्टि न्युज डेष्क । क्रोएसियामा अर्को वर्ष सन् २०२३ देखि यूरोपेली मुद्रा यूरो प्रचलनमा ल्याइने भएको छ । यूरो प्रचलनमा ल्याउनका लागि पूरा गर्नुपर्ने सबै मापदण्ड र प्रक्रिया पूरा गरिसकेकाले क्रोएसियामा यूरो प्रयोगमा आउने निश्चित भएको हो ।

यूरोपेली आयोगले सन् २०२३ को जनवरी १ देखि क्रोएसियामा औपचारिक रूपमा यूरो प्रचलनमा ल्याउन दिने निर्णय गरेको जनाएको छ ।

यूरोपका धेरै देशमा राष्ट्रिय मुद्राको रुपमा प्रयोग हुँदै आएको यूरो प्रयोग गर्ने देशमध्ये क्रोएसिया २० औँ देश बन्ने भएको छ ।

यस पटक यूरो प्रयोगमा ल्याउन स्वीकृति पाउनेमा क्रोएसिया एक्लै भएको छ । क्रोएसियासँगै प्रक्रिया सुरु गरेका अन्य देशहरुले अहिले अनुमति पाएका छैनन् ।

यूरो प्रचलनमा ल्याउन पाउनु पर्ने माग गर्दै प्रक्रिया सुरु गर्नेमा बुल्गेरिया, चेक गणतन्त्र, हङ्गेरी, पोल्याण्ड, रोमानिया र स्वीडेन गरी ६ देश रहेका छन् । उनीहरुले धेरै मापदण्डहरु पुरा गर्न बाँकी रहेकाले यूरो प्रचलनका लागि अहिले नै अनुमती दिन नसकिएको यूरोपेली आयोगका अधिकारीहरुले जनाएका छन् ।

यूरो प्रचलनमा ल्याउनका लागि निवेदन दिएका देशहरुले सुरु गरेको प्रक्रियाका बारेमा पेस गरिएको प्रतिवेदनमा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले टिप्पणी गरकी छन् ।

उनले भनेकी छन्, ‘यूरो ग्रहण गर्ने क्रोएसियाको प्रक्रिया सन्तोषजनक भएकाले क्रोएसिया अव यूरो ग्रहण गर्नेतर्फ उन्मुख भएको छ, क्रोएसियालाई बधाई छ ।’