कालीगण्डकीको बिजुली प्रतियुनिट झन्डै साढे ११ रुपैयाँमा भारतमा बिक्री

462
views

पर्वत, २२, जेठ । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी ’ए’ विद्युत् गृहबाट उत्पादित विद्युत् भारतमा निर्यात सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत् गृहबाट उत्पादित विद्युत् गएराति १२ बजेदेखि निर्यात सुरु गरेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए ।

यसअघि बिहीवारदेखि त्रिशूली र देवीघाट जलविद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक झण्डै ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको थियो ।

कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १ सय ७७ मेगावाट भन्दा धेरै विद्युत् भारत निर्यात गरेको छ । कालीगण्डकी ’ए’ को १ सय ४० मेगावाट, त्रिशूलीको २३ दशमलव २ मेगावाट र देवीघाटको १४ दशमलव ५ मेगावाट विद्युत् भारत निर्यात भएको हो ।

वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी बाँकी रहेको विद्युतलाई प्राधिकरणले भारत निर्यात गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गएरातिदेखि निर्यात भएको विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ७ दशमलव १८ भारु अर्थात ११ रुपैयाँ ४८ पैसा रहेको जानकारी दिए ।

भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) मा २४ घण्टालाई १५-१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक फरक हुने गरेको छ ।

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३ सय ६४ मेगावाटसम्म विद्युत् बिक्री गर्न अनुमति पाएको छ ।