एकैदिनमा साढे सात करोडको विद्युत् भारत निर्यात

185
views

काठमाण्डौ, २६, जेठ । नेपालले भारत लाई एकै लिनमा करिव साढे सात करोड वरावरको विधुत निर्यात गरेको छ ।गएरातिदेखि मध्य मर्स्याङ्दीसहित पाँचवटा आयोजनाको ३ सय १२ मेगावाट विद्युत् भारत निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

त्रिशुली, देवीघाट, कालीगण्डकी र मर्स्याङ्दी जलविद्युत् आयोजनाले यसअघि नै भारतमा विद्युत् बेच्न थालिसकेका थिए । गएराति १२ बजेदेखि भरे राति १२ बजेसम्मको लागि प्रतियुनिट औसत भारतीय छ रुपैयाँ ८८ पैसा अर्थात नेपाली ११ रुपैयाँमा बिक्री भइरहेको छ ।

आज निर्यात भइरहेको परिमाण र मूल्य अनुसार एकैदिन झन्डै साढे सात करोड रुपैयाँको विद्युत् भारत निर्यात हुने प्राधिकरणले जनाएको छ । इन्डियन इनर्जी एक्सचेन्ज आईआईएक्स मा प्रत्येक १५ मिनेटका स्लटहरूमा विद्युत् बिक्री हुन्छ ।

डे अहेड मार्केट स्वरूपमा हुने आईआईएक्सको विद्युत् कारोबारमा प्रत्येक २४ घण्टाका लागि मात्र बोलकबोल हुने गर्छ । भारतमा नेपाली बिजुलीले रातिको समयमा अधिकतम मूल्य १९ रुपैयाँ २० पैसासम्म र न्यूनतम छ रुपैयाँ २० पैसासम्म मूल्य प्राप्त गर्दै आएको छ ।

लिखु–४ जलविद्युत् आयोजनाको ५२ मेगावाट विद्युत् पनि निर्यातका लागि प्रक्रिया सुरु भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताउनुभयो ।