मुग्लिनमा खसेको पहिरोले सडकखण्ड ठप्प, यात्रुहरु अलपत्र

657
views

जेठ २६,काठमाण्डौ । सडकमा खसेको पहिरोका कारण नौबिसे–मुग्लिन र मुग्लिन नारायणगढ सडक खण्ड ठप्प भएको छ । घोप्टे भिरमा खसेको ठूलो पहिरो कारण गए राती ११ बजेदेखि नौबिसे – मुग्लिन सडक खण्ड ठप्प भएको हो । पहिरो खसिरहेकोले हटाउन समस्या भएको छ । पहिरोले गर्दा लामो तथा छोटो दुरीमा हिडेका यात्रुहरु अलपत्र परेका छन् ।अहिले पहिरो हटाउन एक्स्काभेटर र डोजर तयारी अवस्थामा राखिए पनि ठूलो वर्षासँगै पहिरो पनि खसिरहेकाले समस्या भएको त्यहाँ रहेका प्रहरी निरीक्षक एवम् मुग्लिनका इन्चार्ज सुन्जित तामाङले जानकारी दिए। उनका अनुसार ठूलाठूला ढुङ्गासहित पहिरो खसिरहेको छ ।

पानी पनि ठूलो परिरहेकाले पहिरो हटाउन सकिएको छैन । पानी पर्न रोकिएपछि मात्रै पहिरो हटाउन थाल्ने उहाँले बताउनुभयो । ठूलो पहिरो खसेपछि यो सडक खण्ड हुँदै चल्ने गाडीलाई नाका नाकामै रोकिएको छ ।

काठमाण्डौको कलङ्की, थानकोट र नागढुङ्गामा गाडी रोकिएको छ भने मुग्लिन र नारायणगढमा पनि गाडी रोकिएको छ । यस्तै, पोखराबाट काठमाण्डौ छुट्ने गाडीलाई पनि उतै रोकेको प्रहरी निरीक्षक तामाङले वताए ।