आज धेरै ठाउँमा भारी वर्षाको संभावना, पूर्वी भुभागमा बाढी पहिरोको जोखिम

375
views

जेठ २६, काठमाण्डौ। आज देशका अधिकांश ठाउँहरुमा पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।देशका केही ठाउँमा रातिदेखि पानी परिरहेको छ । अहिले पानी पर्न रोकिएका काठमाण्डौ लगायतका ठाउँमा दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले वताए । सापकोटाका अनुसार पछिल्लो समय प्रदेश १, वाग्मती, गण्डकी र मधेस प्रदेशका धेरै ठाउँमा लगातारजसो पानी परिरहेको छ । अन्य प्रदेशमा भने केही ठाउँमा मात्र वर्षा भएको छ ।

मौसमविद्का अनुसार लगातारजसो पानी परेकाले पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम रहेको छ । यसअघि परेको पानीले जमिन गलिसकेको र जमिनले सोस्नु पर्ने जति पानी सोसिसकेकाले अबको वर्षाले बाढी पहिरोको जोखिम बढाउने मौसमविद् सापकोटाले वताए ।भिरालो जमिन र नदी, खोला आसपासमा बसोबास गर्नेहरुलाई सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

नेपालमा सामान्यतया जुन १३ तारिखमा मनसुन भित्रिने भनिए पनि गएको ५ तारिखमा नै भित्रिएको छ । अहिले प्रदेश(१ मा मनसुनी गतिविधि सक्रिय छ । अन्य प्रदेशमा भने मनसुन सक्रिय भइसकेको छैन । नेपालको पूर्वी क्षेत्रमा मनसुनी वायुको सामान्य प्रभाव परेको छ ।मध्य तथा पश्चिमी क्षेत्रमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभाव परेको छ ।