नेपाल लाई हानी पुुग्नेगरी सीमा क्षेत्रमा भौतिक संरचना नबनाउन भारतलाई नेपाल सरकारको आग्रह

259
views

जेठ ३१, काठमाण्डौ । नेपाली भू–भाग डुबानमा पर्ने गरी सीमा क्षेत्रमा कुनैपनि भौत्तिक संरचना नबनाउन नेपाल सरकारले भारतलाई आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेट सँग सम्बन्धित रहेर संसदमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको सहमतिविना सीमा क्षेत्रमा बनिरहेका संरचनाको निर्माण कार्य तत्काल रोक्न आग्रह गरेको वताए ।फाईलफोटो

मन्त्री खड्काले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढङ्गबाट गरिने निर्णय नेपाललाई मान्य नहुने पनि जिकिर गरे । खड्काले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको सम्बन्धमा आवश्यक सबै पहल भइरहेको जानकारी दिए । गएको वर्ष साउनमा दार्चुलाको व्यास गाउँपालिका मालघाटमा महाकाली नदी पार गर्दा भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन काटिदिँदा धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

यस्तै परराष्ट्रमन्त्री खड्काले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ईपीजी को प्रतिवेदन बुझ्न नेपाल सरकार तयार रहेको वताए । नेपाल–भारत बीचमा रहेका सन्धि तथा समझदारीको पुनरावलोकन एवम् द्विपक्षीय सम्बन्धका समग्र पक्षमा अध्ययन गरी सुझाव दिने गरी सन् २०१६ मा ईपीजी गठन भएको थियो । ईपिजीले प्रतिवेदन तयार पारिसकेको छ । तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न समय नदिँदा यो प्रतिवेदन तयार भएर पनि सार्वजनिक हुन सकेको छैन ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणलाई शङ्काका रूपमा नलिन पनि मन्त्री खड्काले आग्रह गरेका छन् ।