पाकिस्तान आर्थिक संकटको चपेटामा

327
views

१ असार ,काठमाडौं । पाकिस्तानमा आर्थिक संकट हुने देखिएको छ । पाकिस्तान सरकारले देश आर्थिक संकटतर्फ गइरहेको भन्दै सर्वसाधारणलाई मितव्ययी बन्न आग्रह गरेको छ ।

विदेशी मुद्राको सञ्चिति दुई महिनाको आयात पनि नधान्ने अवस्था आएपछि सर्वसाधारणलाई यस्तो आग्रह गरिएको हो । चिया विदेशबाट आयात गर्नुपर्ने भएकाले पाकिस्तान सरकारले ऋण काढेर चिया आयात गर्न नसकिने भन्दै चिया पिउने मात्रा घटाउन आग्रह गरेको छ ।त्यहाँका एक वरिष्ठ मन्त्री असान इकबालले सर्वसाधारणलाई दैनिक खाने चियाको मात्रा घटाएर एक वा दुई कपमा झार्न आग्रह गरेका छन् ।

पाकिस्तानले गत वर्ष ६० करोड डलर बराबरको चिया आयात गरेको तथ्यांक देखाउँदै उनले यस्तो आग्रह गरेको पाकिस्तानी संचारमाध्यमहरूले जनाएका छन् । चिया पिउने मात्रा घटाउन गरिएको आग्रह सामाजिक सञ्जालमा भने भाइरल बनेको छ । त्यसो त संकट बढ्दै गएपछि पाकिस्तानमा बिजुली बचाउन भन्दै पसल तथा व्यापारिक प्रतिष्ठानहरू समेत रात नपरी बन्द गर्न थालिएको छ ।

गत फागुनमा १६ अर्ब रहेको पाकिस्तानको विदेशी मुद्राको सञ्चिति यहि जुन पहिलो साता ८ अर्ब डलरमा झरेको त्यहाँ स्थित हाम्रा संवाददाताले वताएका छन् ।