गण्डकी प्रदेशले ल्यायो ३५ अर्ब ९० करोड बजेट, चालु आर्थिक वर्षमा भन्दा करिब ६ अर्ब बढी

388
views

१ असार, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ ।

बुधबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले चालु तर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँको बजेट प्रदेशसभामा पेश गरेका हुन् ।

चालु आर्थिक वर्षमा भन्दा करिब ६ अर्ब बढी बजेट ल्याएका गण्डकी प्रदेश सरकारले स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ २ अर्ब ११ करोड रुपैयाँ र वित्तीय व्यवस्था तर्फ ५० करोड ल्याएको छ ।

आगामी आर्थिक वर्षको बजेटको खर्च बेहोर्ने स्रोतमा नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ७ अर्ब ९२ करोड, राजश्व बाँडफाँडबाट प्राप्त ९ अर्ब २३ करोड, ससर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख, समपुरक अनुदानतर्फ ८३ करोड, विशेष अनुदानतर्फ ८६ करोड रुपैयाँ प्राप्त गर्ने अनुमान गरिएको छ ।

प्रदेशको आन्तरिक राजश्वबाट ५ अर्ब ९ करोड र रोयल्टी बाँडफाँडबाट ३२ करोड प्राप्त हुने अनुमान छ । चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा २ अर्ब ७१ करोड रुपैयाँ खर्च हुन नसकेर मौज्दात रहने अनुमान गरिएको अर्थमन्त्री रामजी बरालले बजेट प्रस्तुत गर्दै बताए ।

आगामी आर्थिक वर्षको वार्षिक कार्यान्वयन गर्न २ अर्ब अपुग हुने देखिएको छ । चालु आर्थिक सरकारले ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको थियो । जसमध्ये जेठ सान्तसम्म ४३।७९ प्रतिशत बजेट खर्च भएको छ ।

सरकारले यस वर्ष चुनाव केन्द्रित बजेट ल्याएको छ । नीति तथा कार्यक्रमबाट नै ठूला र दीर्घकालीन महत्व राख्ने कार्यक्रमभन्दा खुद्रे र लोकप्रिय कार्यक्रम सरकारले ल्याएको थियो । सरकारले यो वर्ष स्वास्थ्य, कृषि, शिक्षा, पर्यटन लगायतलाई जोड दिएको छ ।

सरकारले आगामी आर्थिक वर्षदेखि लिफ्टिङ खानेपानीमा नागरिकले तिर्दै आएको महसुललाई निशुल्क बनाएको छ । अत्यावश्यकबाहेक यो वर्ष सवारी साधन खरिद नगर्ने अर्थमन्त्री बरालले घोषणा गरेका छन् । खरिदै गर्नुपरे गण्डकी प्रदेश सरकारले विद्युतीय गाडी खरिद गर्ने व्यवस्था गरिएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बरालले बताए ।