विश्व कप क्रिकेटको लिग–२ मा नेपाल अमेरिकासँग ३९ रनले पराजित

502
views

असार २, काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग –२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ । टेक्ससको मोसा क्रिकेट मैदानमा बिहान भएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो ।अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन वनायो ।नेपालका आरिफ शेखले ६३ रनको अर्धशतकीय पारी खेले । राम्रो खेलेका शेखले टोलीलाई जिताउन सकेनन् ।

यस्तै, नेपालका सोमपाल कामीले ४७, देव खनालले ३४, आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रन जोडे । दिपेन्द्र सिंह ऐरी, आदिल अन्सारी र करण केसीले दोहोरो अङ्क जोड्न सकेनन् भने कप्तान सन्दीप लामिछाने शून्य रनमा आउट भए ।

अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले ३–३ विकेट लिए भने नोस्थुश केन्जी र निसर्ग पटेलले एकरएक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो ।

अमेरिकाका लागि गजानन्द सिंह र सुशान्त मोदानीले अर्धशतकीय पारी खेले । सिंहले ५८ तथा मोदानीले ५४ रनको योगदान गरे । यस्तै, आरोन जोन्स्ले ४३, सैतेज मुक्कामलाले ३६, निसर्ग पटेलले १८ र क्यामरोन स्टेभेन्सनले १६ रन जोडे ।

नेपालका करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एकरएक विकेट लिए । यसअघिको खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका थिए । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो ।