रुस–युक्रेनबीच भएको सम्झौताअनुसार अन्न बोकेको जहाजले युक्रेनी बन्दरगाह छाड्यो

407
views

एजेन्सी । रुस र युक्रेनबीच भएको सम्झौताअनुसार अन्न बोकेको पानी जहाजले युक्रेनी बन्दरगाह छाडेको छ । गएको फेब्रुअरीदेखि रुसले युक्रेनी बन्दरगाहमा अवरोध गरेका कारण युक्रेनबाट अन्न निर्यात पनि रोकिएको थियो ।

दुई देशबीच भएको सम्झौतापछि अन्न बोकेको पहिलो जहाजले आज सोमवार युक्रेनी बन्दरगाह छाडेको बीबीसीले जनाएको छ । २६ हजार टन मकै बोकेको जहाज भोलि मङ्गलवार टर्कीको जलक्षेत्रमा पुग्ने बताइएको छ । टर्कीले आउँदा हप्ताहरूमा थप ढुवानीका योजना रहेको पनि बताएको छ । अन्न ढुवानी सुरु गर्ने सम्झौताले विश्वव्यापी खाद्य सङ्कटलाई कम गर्ने र अन्नको मूल्य घटाउने आशा गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जहाजको प्रस्थानलाई स्वागत गर्दै सम्झौता कार्यान्वयनमा काम गर्न टर्कीको भूमिकाको प्रशंसा गर्नुभएको छ । यस्तै युक्रेनका पूर्वाधार मन्त्री अलेक्ज्यान्डर कुब्राकोभले फेसबुक पेजमा स्टाटस लेख्दै युक्रेनले साझेदारहरूसँग मिलेर विश्व भोकमरी रोक्न थप कदम चाल्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घ र टर्कीको मध्यस्थतामा दुई देशबीच अन्न बोकेका जहाज चलाउने सहमति भएको हो । यो सहमति एक सय २० दिनका लागि गरिएको छ । युक्रेनबाट अन्न निर्यात हुन रोकिँदा गहुँबाट उत्पादन हुने खाद्यन्नसँगै खाने तेल र रासायनिक मलको भाउ र अभाव विश्वव्यापी रूपमा बढेको छ ।