एजेण्डा मिल्ने पार्टीसँग तालमेल गर्ने एमालेको निर्णय

323
views

काठमाण्डौं, ८, भदौ । नेकपा (एमाले) ले आफ्नो एजेण्डा मिल्ने पार्टीहरुसँग चुनावी तालमेल गर्ने भएको छ । पार्टी मुख्यालय च्यासलमा मंगलबार बसेको स्थायी कमिटी बैठकले मुद्दा मिल्ने दलसँग निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको हो ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार ‘हामी चुनौती सामाना गरेर एक्लै चुनावी मैदानमा जाने हो, सुशासन, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियतालाई बचाउने हो । यस क्रममा जो–जोसँग एजेण्डा मिल्छ सोही पार्टीसँग चुनावी तालमेल गर्ने निर्णय भएको छ ।’

मंगलबारको बैठकबाट यही भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरिएको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश हुने निर्णय गरेको छ ।

अध्यक्ष ओलीले आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा १३ जना स्थायी कमिटी सदस्यले आ–आफ्नो धारणा राखेका छन् । धनश्याम भुसाल, कर्ण थापा, प्रभु साह, गोरखबहादुर बोगटी, शेरधन राई, रघुजी पन्त, गुरु बराल, शेरबहादुर तामाङ, मणिचन्द्र थापा, खगराज अधिकारी, सुभाष नेम्वाङ र हिक्मत कार्कीले अध्यक्ष ओलीको प्रतिवेदनमा आआफ्नो धारणा राखेका थिए ।

ओलीको राजनीतिक प्रतिवेदनमा चुनावमा कसरी जाने, चुनावी रणनीति, आगामी राजनीतिक कार्यदिशा के हो भनेर स्पष्ट हुने प्रमुख गुरुङको भनाइ छ । यस्तै, पार्टीको वार्षिक बजेट पनि बैठकले पास गरेको छ ।

प्रचार विभाग प्रमुख गुरुङका अनुसार कुलभक्त शाक्य, गेभी नेपाली र नवराज पौडेललाई परिषद्मा मनोनयन गरिएको छ । यस्तै विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गरेकालाई समेत केन्द्रीय कमिटीमा मनोनयन गरिएको छ । जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलाई केन्द्रीय कमिटीमा मनोनयन गरिएको हो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको ठोस योजना बनाउनका लागि एमालेले मंगलबार (७ भदौ) देखि भदौ १२ गतेसम्म स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी बैठक र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो ।