प्रभाकर दाइ, मैले के अपराध गरेको थिएँ हँ ?

634
views

हिजो प्रगतिशील लेखक सङ्घको केन्द्रीय कार्यालयको बैठक सिध्याएर ६.३० तिर म बालाजु बासस्थान फर्कनेक्रममा पुरानो बसपार्कको नजिकै बीच–सडकमा झन्डै २ दर्जन दङ्गाप्रहरीले घेरा हाले । मलाई देख्नेबित्तिकै दङ्गाप्रहरीसहितको सो समूह दौडिएको थियो । तिनीहरू किन दौडिएका हुन् ? त्यो कुरा सुरुमा मलाई थाहा भएन । जब मलाई बीच सडकमा ३ घेरामा हालेर सोधपुछ गर्न थालियो, त्यसपछि बल्ल टार्गेटमा त म नै पो रहेछु भन्ने कुरा थाहा भयो । एउटाले ‘महासचिवज्यू’ भन्दै ‘तपाईं सांस्कृतिक कमिटिको सचिव होइन’ भन्यो । ‘तपाईंलाई हामी राम्ररी चिन्दछौँ । तपाईं विप्लव माओवादीका सांस्कृतिक महासचिव होइन’ भन्यो । नामचाहिँ उनीहरूलाई कन्ठै रहेछ । मैले ‘हो’ भनिदिएँ । प्रहरीले मेरो झोला कब्जामा लिए । शरीरको खानतलासी गरे । झोलामा रहेका नयाँ संस्कृति, सम्पादकीय, डायरी, अंग्रेजी भाषामा लेखिएको पुस्तक ‘द वल्ड म्यान एन्ड द सी’ का पाना पाना पल्टाएर जाँच गरियो । नयाँ संस्कृतिको कभर पेजमा रहेको तस्बिरको अर्थ सोधियो । ‘तपाईं आफैँ बुझ्नुस्’ भनेँ । नयाँ संस्कृतिको कभरपृष्ठमा विप्लव दाइको नाम थियो । यसले दुई–तीनपटक त्यो नाम लियो । अगाडि लेखिएको सबै नेताको नाम पनि लियो ।
मेरो डायरी पल्टाउँदै ‘तपाईंको झोला त कार्यालय नै रहेछ’ भन्यो । मैले ‘हामी लेखक साहित्यकार भएको हुँदा केही सम्पर्क नम्बर र टिपोट–टापट त हुने नै भयो’ भनेँ । नयाँ संस्कृति र सम्पादकीयको पछाडिको पृष्ठमा मेरो फोन नम्बर थियो, त्यो प्रहरीले नामसहित आफ्नो डायरीमा टिप्यो । ‘आज कार्यक्रम के छ ? तपाईंका अन्य साथीहरू को को छन् ? भोलिको नेपाल बन्दको के के कार्यक्रम छ’ भनेर सोध्यो । मैले ‘पार्टीको कुरा हामीलाई थाहा हुँदैन’ भनेँ । त्यतिखेर त्यहाँ सर्वसाधारणको घुइँचो भइसकेको थियो । प्रहरीलाई मानिसको भीड पन्छाउन हम्मेहम्मे भइसकेको थियो । त्यहाँ एक किसिमको रमिताजस्तै भएको थियो । त्यो समूहको नाइकेले अलि उतापट्टि गएर कहाँ हो, फोनबाट लामो समय कुरा गरयो । फर्किएर आएर अर्को एक प्रहरीसित कानेखुसी गरयो । त्यसपछि ‘सर यता आउनुस् त’ भनेर अलिकति अघि लग्यो । त्यसपछि प्रहरीहरू अलिकति पछाडि हटे । उसले भन्यो, ‘सर हाम्रो जागिर यस्तै छ । भोलिको बन्दका कारण यस्तो भएको हो । दुःख नमानिदिनुहोला ।’ मैले भनेँ, ‘बीच बाटोमा यत्तिका मानिसका अगाडि यो दुव्र्यवहार भएन र ! यस्ता कुरामा तपाईंहरूले ख्याल गर्नुपर्दछ ।’ त्यसपछि उसले ‘सरी सर, अब तपाईं जान सक्नुहुन्छ’ भन्दै हात मिलाउन खोज्यो । मैले पनि हात मिलाइदिएँ । अनि, सरासर गन्तव्यतिर लम्किएँ ।
अलि अगाडि बढेपछि अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष टेक बलम्पाकीलाई फोन गरेँ, फोन लागेन । त्यसपछि अनिल शर्मालाई घटनाको संक्षिप्त जानकारी गराएँ । मलाई यतिखेर एउटा प्रश्नले घेरिरहेको छ, आखिर हाम्रो अपराध के हो ? यतिखेर माओवादी केन्द्रका युवा नेता तथा पूर्व पीएलएका कमान्डर प्रभाकर दाइ गृहमन्त्री हुनुहुन्छ । उहाँद्वारा परिचालित प्रहरीले बिनाकारण हामीलाई किन शारीरिक तथा मानसिक यातना दिइरहेको छ ? राजनीतिक आस्था फरक हुनु मात्रै यी कुरासित सम्बन्धित छैन । यसले वर्तमान सरकार, विशेषतः त्यसका सहयात्री दल माओवादी केन्द्र फासिवादी बन्दै गएको देखाउँदैन र ! मैल पढेसम्म र जानेसम्म फासिवादका विरुद्धको संघर्षमा अहिलेसम्म जनता हारेको मलाई थाहा छैन ।
प्रहरीद्वारा नियन्त्रणमा लिइएको कुरा विभिन्न सञ्चार–माध्यममा सार्वजनिक भएपछि मेरा आदरणीय अग्रज, नेता तथा सहयोद्धा र मित्रहरूले मप्रति जुन सदाशयता र सद्भाव देखाउनुभएको छ, त्यसप्रति सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।