बंगलादेशले नेपालबाट ५० मेगावाट बिजुली लैजाने

613
views

काठमाडौँ । बंगलादेशले नेपालबाट ४० देखि ५० मेगावाटसम्म बिजुली लैजाने भएको छ । काठमाडौंमा बिहीबार सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी’ (जेएससी) को चौथो बैठकले बिजुली लैजाने सहमति गरेको हो ।

नेपालको बिजुली बंगलादेश लैजान भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकाले त्यहाँका सरोकारवाला निकायसँग त्रिपक्षीय छलफल गर्ने विषयमा पनि दुवै देशका अधिकारीहरू सहमत भएका छन् ।

नेपाल–बंगलादेशबीचको विद्युत् व्यापारमा एनभीभीएनको भूमिका खोजिएको हो  । एनभीभीएन भारतको ऊर्जा व्यापारको ‘नोडल एजेन्सी’ हो । नेपालले एनभीभीएनलाई उपलब्ध गराउने र सोही परिमाण बराबरको बिजुली एनभीभीएनले बंगलादेशलाई दिने गरी त्रिपक्षीय सम्झौताको आवश्यक पर्छ ।

अहिले भारतबाट बिजुली लगिरहेको संरचनाले धान्ने बराबरको बिजुली लैजान तयार भएको बङ्गलादेशले जनाएको छ । विद्यमान संरचनाले झन्डै ४० देखि ५० मेगावाटसम्म बिजुली लैजान सकिने देखिएको छ ।

यस्तै, बङ्गलादेशले कुल ६ सय ८३ मेगावाट क्षमताको सुनकोसी तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि संयुक्त लगानी गर्नेबारे प्रारम्भिक रुपमा सहमति जनाएको छ । यो आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन यथाशीघ्र बङ्गलादेशलाई उपलब्ध गराइने छ ।

यस आयोजनाको सम्पूर्ण अध्ययन प्रतिवेदन नेपालले बङ्गलादेशलाई उपलब्ध गराउने र बङ्गलादेशले पनि आफ्नो धारणा दिने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले जानकारी दिए ।