बाँके-३ बाट आरजु देउवासहित तीन जनाको नाम सिफारिस

419
views

नेपालगन्ज, १८, भदौ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका तीन जना केन्द्रीय नेताको नाम सिफारिस भएको छ ।

प्रत्यक्ष निर्वाचनका लागि नेपाली काँग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का, सह महामन्त्री किशोरसिंह राठौर र केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ । यसअघिका निर्वाचनमा काँग्रेस उपसभापति खड्का सुर्खेत, राठौर बर्दिया र देउवा कैलाली जिल्लाबाट चुनाव लड्दै आउनु भएको थियो ।

बाँके, क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँले तीन जना शीर्ष नेतासहित ११ जनाको नाम प्रत्यक्षका लागि सिफारिस गरिएको बताउनुभयो । उहाँका अनुसार बाँकेका काँग्रेस नेता बादशाह कुर्मी, आशा बि.क, मेघराज ओली, लक्ष्मणनारायण शाह, मोहम्मद नक्की खाँ, देवबहादुर खत्री, उत्तम राज घिमिरे र तेजेन्द्र कँडेलको नाम पनि सिफारिस गरिएको छ ।

सोही क्षेत्रबाट समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकमा काँग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठसहित कृष्ण बिके रसाइली, हरिभक्त उप्रेती, गगनबहादुर बिक, अनिता योगी, शेरबहादुर गुरुङ, अर्जुन पाण्डे, पुष्पा बिक र चक्रबहादुर मल्ल सिफारिसमा पर्नु भएको छ ।

क्षेत्रीय कार्यसमितिले सिफारिस गरेको नाम जिल्ला, लुम्बिनी प्रदेश हुँदै केन्द्रीय कार्यसमिति समक्ष पुग्नेछ । २०७४ सालको निर्वाचनमा उक्त क्षेत्रमा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका नन्दलाल रोकाय निर्वाचित हुनु भएको थियो ।