देउखुरी साहित्य मञ्चद्वारा हिरामणि दुःखी सहितका स्रष्टाहरू पुरस्कृत गरिँदै

581
views

शिवराज पन्थी
गढवा, २९, भदौ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङले यही असोज ३ गते देउखुरीको लमहीमा ११ औं बार्षित्सवको मनाउने भएको छ । सो अवसरमा दाङ देउखुरीमा साहित्य लेखनको विविध विधामा कलम चलाउने र गीत–सङ्गीतको क्षेत्रमा कृयाशील १२ जना स्रष्टाहरूलाई छनोट समितिको सिफारिस बमोजम पुरस्कृत गर्ने निर्णय भएको सञ्चका अध्यक्ष हरि पोखे्रलले जानकारी दिनुभयो ।

जस अनुसार खाडी राष्ट्र कतारमा कार्यरत श्रमजीवी नागरिकहरूको सहयोगमा मञ्चले स्थापना गरेको ‘देउखुरी कतार साहित्य पुरस्कार’बाट अग्रज साहित्यकार इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा प्रगतिवादी लेखक हिरामणी दुःखी सम्मानित हुनुहुने भएको छ । त्यस्तै ‘पोखे्रल पद्य साहित्य पुरस्कार’ पद्य विधामा कलम चलाउने साहित्यकार खगराज न्यौपानेलाई प्रदान गरिने भएको छ भने मञ्चका संस्थापक अध्यक्ष देवराज पाठकले स्थापना गर्नुभएको ‘पाठक कला संस्कृति सङ्गीत साहित्य पुरस्कार’ गितकार तथा गायक यादवनाथ योगीलाई प्रदान गरिने भएको मञ्चले जनाएको छ ।

त्यसैगरी खिमानन्द केशरा साहित्य पुरस्कारबाट पत्रकार तथा लेखक केबि मसाल, होतबिष्णु साहित्य पुरस्कारबाट कमलमणी देवकोटा, जगत साहित्य पुरस्कारबाट हिमोढ पहाडी र ज्योतिसिंह साहित्य पुरस्कारबाट साहित्यकार डा.खेमराज मल्ललाई पुरस्कृत गरिने भएको मञ्चका अध्यक्ष हरी पोखे्रलले जानकारी दिनुभयो ।

यसैगरी ऋषिबिना साहित्य पुरस्कारबाट साहित्यकार नगेन्द्र गुरु, शोभादेवि संघर्षशील साहित्य पुरस्कारबाट साहित्यकर्मि दीपा धिताल, कल्पना साहित्य पुरस्कारबाट साहित्यकार भवानी न्यौपाने भावनालाई, गंगातारा साहित्य पुरस्कारबाट साहित्यकार शेषमणी शर्मा रिजाललाई तथा ठागुरामपति प्रतिभा साहित्य पुरस्कारबाट शिशिर रेग्मीलाई पुरस्कृत गरिने भएको छ ।

यस मञ्चले दाङ देउखुरी क्षेत्रमा रहेर साहित्य क्षेत्रमा विशिष्ट योगदान गर्ने अग्रज व्यक्तित्वलाई वर्षेनी सम्मान गर्दै आएकोमा वर्ष २०७८ को सम्मान अग्रज साहित्यकार सोमनाथ शर्मा पन्थीलाई गर्ने निर्णय गरेको छ । सो अवसरमा मञ्चले प्रकाशन गर्दै आएको वार्षिक साहित्यिक मुखपत्र स्तम्भको समेत विमोचन गरिने मञ्चले जनाएको छ । उक्त कार्यक्रमलाई सफल पार्न मञ्चका पदाधिकारी विच विभिन्न जिम्मेवारीहरू समेत बाँडफाँड गरेको बताईएको छ ।

देउखुरीको लमहीमा आयोजना गरिने उक्त कार्यक्रममा उपस्थित हुन मञ्चका सम्पूर्ण आजिवन सदस्य, साहित्यिक संघसंस्था, पुरस्कार संस्थापक, पुस्कृत व्यक्तित्वहरू तथा आम साहित्यकर्मिलाई अनुरोध गरिएको छ । बैठकले मञ्चको भवन निर्माणका लागि विभिन्न कोणबाट आर्थिक सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गरेको जनाएको छ ।