शीर्षक: विकास

583
views

–छन्द: अनुष्टुप

मुसाले कोट काट्दैछ भन्ने थाह हुँदा पनि ।
दराजमा नथन्क्याई वाहिर टाँगदा अनि ।। १
मुसाले क्षति तुल्यायो सहेर बसियो तर
दोष,कसुर गर्ने को ? सहने नै हुँदैन र ?।। २

हत्या,हिंसा,बलात्कार ,लूट धन्दा घटाउन ।
सिमानामा मुसा जस्तै पस्दैछन् दिनका दिन ।। ३
लुटिदै छौं त नेपाली, बचाउ गर्छ को तर ?
दोष,कसुर गर्ने को ? सहने नै हुँदैन र ? ४

बनको छेउमा खोर बाघको भर के छ र ?
भत्काई खोर मारेर, बाख्रा लैजान्छ आखिर ।। ५
बलात्करी,लुटेरा ती, मौलाए किन भन्नु र ?
दोष,कसुर गर्ने को ? सहने नै हुँदैन र ? ६

विष वृक्ष उमारेर सुधा मृदु चिताउने ।
नेता देश नहाँकेर रोज्यौ रैती बिताउने ।। ७
जोलाई अधि सार्यौं त्यो हुन्छ ढल्केर काँतर ।
दोष,कसुर गर्ने को ? सहने नै हुँदैन र ? ८

गणतन्त्र भनेको त्यो भाँडतन्त्र नचाउन ।
होइन, हो र डाकेको ? पर्छ देश बचाउन ।। ९
कहाँ विकास गर्छन् को ? भुँडी भर्नै पुगेन र ?
दोष,कसुर गर्ने को ? सहने नै हुँदैन र ? १०

ठूला उद्योग नाशेर बेरोज्गार बढाइयो ।
छोयो व्योम महङ्गीले, रैतीको ढाड सेकियो ।।११
बोटै बिकासको मारी, बिकासै किन खोज्नु र ?
दोष,कदुर गर्ने को ? सहने नै हुँदैन र ? १२

नाच्दैछन् सरिता पारी शहर बीच फन्फनी ।
वारी जमीन बाँझै छन्, कृषिप्रधान तैपनि ।। १३
बाँझो छ खेतबारी नै, नीति ठिक्क कहाँ छ र ?
दोष,कसुर गर्ने को ? सहने नै हुँदैन र ? १४

भ्रष्टाचारी,महाँ पापी, धूर्त स्यालसरि यहाँ ।
बढ्दैछन् तर सोझा ती, युवा सागर पारमा ।। १५
पसिनाले नुहाउँदै काट्दैछन् दिन पल्तिर ।
दोष,कसुर गर्ने को ? सहने नै हुँदैन र ? १६

जङ्गी पिल्लर हल्लिए, आए सर्दै यतैतिर ।
सिमाना सार्दछन् हेपी, मित्रराष्ट्र उतातिर ।। १७
सहन्छौं धरती हाम्रो, मिचिन्छ वरको पर ।
दोष,कसुर गर्ने को ? सहने नै हुँदैन र ? १८

यता उत्तरको हावा, उता दक्षिण,पूर्वको ।
हावा पश्चिमको आयो,रुखै टुट्यो बिकासको ।। १९
नाकाबन्दी,थिचोमिचो सहन्छौं परनिर्भर ।
दोष,कसुर गर्ने को ? सहने नै हुँदैन र ? २०

चोलाकान्त रेग्मी