निलम्बित प्रधानन्यायाधीश जबरासँग पूरक प्रश्न गर्ने महाअभियोग सिफारिस समितिको तयारी

320
views

काठमाण्डौ, ३१, भदौ । महाअभियोग सिफारिस समितिले पूरक प्रश्नका लागि आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बोलाएको छ ।

समितिको बैठक बिहान ९ बजे बस्दैछ । हिजो समितिले बयानका क्रममा जबराले नाम लिएका नेपाल बार एसोसिएशनका पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ अधिवक्ता, अधिवक्तासँग छलफल गरेको थियो ।

महाभियोग सिफारिस समितिमा गएका सात जना कानुन व्यवसायीले जबराले लगाएको आरोप पूर्वाग्रही र गलत रहेको दाबी गरेका छन् । समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमका अनुसार समितिले प्रतिवेदन लेख्ने काम गरिरहेको र प्रतिवेदनको बारेमा आजको बैठकले निर्णय गर्नेछ ।

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण पनि मगाउने भएको छ । समितिले न्यायपरिषदबाट जबराको सम्पत्ति विवरण माग गर्ने निर्णय गरेको सभापति रामबहादुर विष्टले जानकारी दिनुभयो । प्रतिनिधि सभाको कार्यकाल भोलि मध्यरातिदेखि अन्त्य गर्ने सरकारले तयारी गरेको छ ।

जसअनुसार अब प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिसमक्ष दुई दिन मात्र बाँकी छ । सकेसम्म आज बेलुकासम्म प्रतिवेदन तयार पारेर भोलिसम्ममा प्रतिनिधि सभामा पेस गरिने समिति सचिव गौतमले जानकारी दिनुभएको छ ।