अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुग्यो

354
views

अछाम, २,असोज । जिल्लामा पहिरो परी मृत्यु हुनेको संख्या २२ पुगेको छ । एकजना अझै वेपत्ता छन् । गत शुक्रबार राति आएको पहिरोमा पुरिएका २२ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरिक्षक नारायण डाँगीका अनुसार एकजनाको खोजी कार्य जारी छ । मृत्यु हुनेमा तुर्माखाँद गाउँपालिका ५ का एकैपरिवारका ४५ वर्षीया नेत्रबहादुर शाही,उनकी पत्नी ३५ वर्षीया मनिषा देवी शाही,१७ वर्षीया छोरी बिमला शाही,१६ वर्षीया भतिजी जानकी शाही रहेका छन् ।

सोहि ठाउँका रितबहादुर शाहीकी बुहारी २३ वर्षीया भावना शाही,२० वर्षीया कल्पना शाही, १२ छोरा वर्षीय सुन्दर शाही, नातिनी ३ वर्षीया करिश्मा शाही र १ वर्षीया मेलिना शाही रहेका छन् ।

कमलबजार नगरपालिका ८ का एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । २६ वर्षीया गम्भीरे दमाई,२३ वर्षीया उनकी श्रीमती भाना दमाई, छोरीहरु ६ वर्षीया डिक्रा,४ वर्षीया कल्पना र ३ वर्षीया कलु दमाई रहेका छन् ।

त्यसैगरी सोहि पालिकाको वडा नम्बर ६ का एकै परिवारका तीन बहिनी २२ वर्षीया संजिता जनाला, १९ वर्षीया सरिता जनाला र १४ वर्षीया गीता रहेका छन् । त्यसैगरी ३६ वर्षीया मैनकला कामी,२१ वर्षीया बुहारी धना कामी,छोरा ९ वर्षीय निखिल कामी,र १५ वर्षीया छोरी सिर्जना कामी रहेका वडा अध्यक्ष लालबहादुर शाहीले जानकारी दिए ।

पहिरोमा परी मृत्यु हुनेमा ढकारी गाउँपालिका ६ का २ वर्षीय नविन बुढा रहेका छन् ।

उनकी आमा २१ वर्षीया चन्द्रादेवी बुढा,६२ वर्षीया हजुरबुबा हर्क बुढा,१२ वर्षीया दाजु धर्म बुढालाई उपचारका लागी हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको छ । ढकारी गाउँपालिकाका १ का ४५ वर्षीय मोति बुढा जैशी अझै बेपत्ता रहेका छन् ।