युक्रेनको लिमान सहर रूसी सेनाबाट मुक्त

315
views

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक प्रमुख सहर लिमानलाई रूसी सेनाबाट मुक्त गरिएको बताएका छन् ।

रुसले युक्रेनका चार भू–भाग गाभिएको घोषणा गरेपछि किएभ र पश्चिम देशले भत्र्सना गरिरहेका बेला रूसले कब्जा गरेको लिमान सहर सेनामुक्त गरिएको युक्रेनले दाबी गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा युक्रेनी सेनालाई धन्यवादसहित एक भिडियो समेत पोस्ट गरेका छन् ।

जेलेन्स्कीले देशको पूर्वी डोनबास क्षेत्रका थप क्षेत्रहरू यसै हप्ताभित्र पुन: कब्जा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । केही दिन अघि मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक समारोहकाबीच डोनेट्स्क, लुहान्स्क, खेअर्सन र जापोरिजिया गरी युक्रेनका चार क्षेत्रलाई आफ्नो कब्जामा लिएको औपचारिक घोषणा गरेका थिए ।