२०७९ मंसिर ४ गते हुने चुनावमा उम्मेदवार नबन्ने डा.बाबुराम भट्टराईको घोषणा

358
views

पर्वत, १७, असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले २०७९ मंसिर ४ गते हुन लागेको चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । ०६४ देखि लगातार गोरखाबाट चुनाव लड्दै आएका र जितेका बाबुरामले यसपटक चुनाव नलड्ने घोषणा गरेका हुन् ।

चुनाव नलड्ने घोषणा गरेका उनले गोरखाबासीलाई संबोधन गर्दै भनेका छन् प्रिय गोरखा, २०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा, दिदीबहिनी, दाजुभाइहरूमा अन्तः हृदयैदेखि आभार ब्यक्त गर्दछु ।

आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।

मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरू भएका आयोजना पूरा हुन बाँकी छन् । बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु ।

२०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउनेजाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखें र तपाईंहरूबाट धेरै सिक्ने अवसर पाएँ । आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु ।

चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन । तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो । म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु । पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु ।

म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउँमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ । म त्यहँका साथमा हुनेछु ।

आसन्न वडादशै, तिहार, नेपाल सम्वत् नयाँ वर्ष लगायतका सबै पर्वहरूमा हार्दिक शुभकामना ।