छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै

412
views

काठमाडौं, १२, कार्तिक । छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ विधिवत रुपमा शुक्रबारबाट शुरु भएको हो ।

छठपर्व मनाउनेहरु पोखरी, नदी, तलाउलगायतका जलाशयहरुलाई सरसफाई गरी सजावट गर्नमा व्यस्त छन् । जलाशयहरुलाई सिंगारिने काम भइरहेको छ ।

छठपर्वको पहिलो दिन शुक्रबार नहायखाय विधि सम्पन्न गरिएको छ । कात्तिक शुक्लपक्षको पञ्चमी तिथी अर्थात पर्वको दोस्रो दिन आज खरना विधि गरिदैंछ ।

खर्नाका दिन व्रतालु महिला र पुरुषहरुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर, केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गर्छन्। यसरी खरना विधि सम्पन्न हुन्छ ।

त्यस्तै षष्ठी तिथी अर्थात पर्वको तेस्रोदिन अस्ताउँदो सूर्य र सप्तमी तिथीमा उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत रुपमा समापन हुन्छ ।