८ लाख ४१ हजार ६६० वेरोजगार सुचिकृत

337
views

काठमाडौं, १५, कार्तिक । चालू आवको ७ महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत दर्ता भएका बेरोजगार युवाको संख्या १ लाख ३३ ले वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको सोही अवधिमा वेरोजगार युवाको संख्या ७ लाख ८ हजार २४५ बाट वृद्धि भएर ८ लाख ४१ हजार ६६० पुगेको छ ।

आर्थिक वर्ष २०७७÷०७८ मा न्यूनतम रोजगार कार्यक्रममा सहभागी हुन ७ लाख ५२ हजार ४५० जना बेरोजगार व्यक्तिको सूचीकरण भएको र तीमध्ये २ लाख बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रत्याभूति गरिने राष्ट्रिय लक्ष्य तोकिएको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव लोकनाथ भुसालले कार्यक्रमको लक्ष्य रोजगारी सृजनासँगै बेरोजगारको खोजी गरी सूचीकरण गर्ने भएकाले पछिल्लो समय स्थानीय तहसँग मिलेर बेरोजगारको खोजीलाई प्रभावकारी बनाएपछि संख्या बढेको बताए ।

‘बेरोजगारको संख्या वृद्धिसँगै सबैलाई रोजगारी उपलब्ध गराउन नसक्नु कमजोरी भए पनि सूचीकृत हुने र रोजगारी माग गर्ने चेतना बढ्नु सकारात्मक हो, उपसचिव भुसालले भने, ‘पछिल्लो समय स्थानीय तहले पनि रोजगार कार्यक्रमलाई प्राथमिकता दिएका कारण भविष्यमा रोजगारी नपाउनेको संख्या समेत बढ्न सक्छ ।’