३ सय आप्रवासीसहितको ट्रक मेक्सिकोको जंगलमा फेला

501
views

एजेन्सी । मेक्सिकोको भेराक्रुज राज्यमा करिब साढे ३ सय आप्रवासीहरुसहितको ट्रक अलपत्र अवस्थामा फेला परेको छ । बस्तीदेखि निकै टाढा एकान्त स्थानमा फेला परेको ट्रकमा ३ सय ४० जनामा आप्रवासीहरु भेटिएको मेक्सिकोका अधिकारीहरुले बताएका हुन् । ती मध्ये १ सय ३ जना बालबालिका रहेका छन् । बालबालिकाहरुका अभिभावक समेत ट्रकमा नरहेको पाइएको अधिकारीहरुको भनाइ छ ।

ग्वाटेमाला, होण्डुरस, एल साल्भाडो र इक्वेडरका आप्रवासीहरुलाई अमेरिका लैजाने भन्दै मानव तस्करहरुले मेक्सिकोको जंगलमा पुर्याएर अलपत्र छाडेका हुन । उनीहरु सुरक्षित अवस्थामा रहेको र पहिचान नखुलुन्जेल मेक्सिकोको सामाजिक सुरक्षा विभागले रेखदेख गर्ने जनाएको छ ।

मध्य अमेरिकी देशहरुको गरीबी र बेथितिबाट दिक्क भएकाहरु मानव तस्करहरुलाई ठूलो रकम दिएर अमेरिका प्रवेश गर्ने प्रयास गर्ने गर्छन । अमेरिकी सीमा सुरक्षा बलले गत वर्ष लाखौं आप्रवासीहरुलाई फर्काएको थियो । लाखौंको संख्यामा आप्रवासीहरु पक्राउ समेत परेका थिए ।