प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

352
views

काठमाण्डौं, ६, चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक आज विश्वासको मत लिँदैछन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बारेमा संसद्लाई जानकारी गराएका हुन् ।

गत पुस १० गते प्रधानमन्त्री बनेका दाहालले पुस २६ मा विश्वासको मत लिएका थिए । त्यतिबेला उनलाई राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक जना सांसदबाहेक सबै दलले विश्वासको मत दिएका थिए ।

राष्ट्रपति निर्वाचनमा एमाले नेतृत्वको गठबन्धन तोडेर प्रचण्डले कांग्रेसलाई साथ दिएपछि एमालेले फागुन १५ गते समर्थन फिर्ता लिँदै सरकार छाडेको थियो । राप्रपा त्यसको दुई दिनअघि सरकारबाट बाहिरिएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची संसदले प्रकाशन गरेको छ ।