साइबर अपराध नियन्त्रणका लागि दक्षिण एशियाली मुलुकका अधिकारीहरुको ध्यानाकर्षण

947
views

काठमाडौ २९ असार । गृहमन्त्री जनार्दन शर्माले विकास र समृद्धिको चुनौतीको रुपमा साइवर अपराध बढेको बताउँदै यसको नियन्त्रण गर्न नीतिगत व्यवस्था गर्ने दिशामा दक्षिण एशियाली मुलुकका अधिकारीहरुको ध्यानाकर्षण गराउनुभयो ।
श्रीलंकाको कोलम्बोमा बिहिबार आयोजना भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क राष्ट्रका गृहमन्त्रीस्तस्तरिय आठौ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले त्यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
उहाँले आतंकवाद तथा आपराधिक कृयाकलाप विरुद्ध उच्चतम प्रयास चालेपनि त्यस्ता समस्याहरुको समाधानमा कठिनाइको सामना गर्नुपरेको बताउनुभयो । आतंकवाद विरुद्ध नेपालले सात वटा महत्वपूर्ण कानुनहरु बनाउन लागेको समेत शर्माले बताउनुभयो । सम्पति शुद्धिकरण सम्बन्धि विषयहरुलाई सम्बोधन गर्नकालागि पुनरावलोकन समिति गठन गरिएको र अन्तराष्ट्रिय मापदण्ड अनुसार काम अगाडि बढेको उहाँले जानकारी गराउनु भयो ।
यसैगरी उहाँले सार्कका प्रतिबद्धता र निर्णयहरु प्रभावकारी ढंगले कार्यन्वयन गर्ने बेला भएको पनि बताउनु भयो । नेपालमा हालै भएको स्थानिय तहको निर्वाचनबाट देशमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सामाजिक रुपान्तरण हुने बताउनु भयो । दुई दिने कार्यक्रममा भाग लिन गृहमन्त्री शर्मा प्रभाकर, गृह सचिव लोकदर्शन रेग्मी र प्रवक्ता दिपक काफ्ले श्रीलंका जानु भएको हो ।