यू–१९ विश्वकपमा नेपाली टोली पराजित ः विश्वकपका लागि १४ खेलाडी छनौट

600
views

नयाँ दिल्ली । आईसीसी यू–१९ विश्वकप छनोटका लागि भारतमा तयारी गरिरहेको नेपाली यू–१९ क्रिकेट टोलीले बिहीबार नोयडा–११ सँग खेलेको पाचौँ खेलमा ६८ रनले हार बेहोरेको छ । दिल्लीको ग्रेटर नोयडाको सहिद विजय पथिक स्पोर्टस कम्प्लेक्समा टस जितेको नोयडाले निर्धा्रित ५० ओभरमा ८ विकेट गुमाई २ सय ३४ रन बनाएको थियो । ओपनर तान्मे श्रीवास्तवले भने नटआउट १ सय २० रन बनाएका थिए । नियमित कप्तान सन्दीप लामिछाने बिना खेलेको नेपालबाट किशोर महतो र पवन सर्राफले २–२ तथा रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शाहब आलमले १–१ विकेट लिएका थिए । नेपाली यू–१९ टिमले जवाफी ब्याटिङ गर्दा ४२ ओभरमै १ सय ६६ रनमा अलआउट भयो । कप्तान दीपेन्द्रसिंह ऐरीले ५५ रन, ओपनर सन्दीप सुनारले ३६, प्रकाश केसीले ३१ र आसिफ शेखले १० रन बनाए । योसँगै सिंगापुरमा यही १५ देखि २५ जुलाईसम्म संचालन हुन लागेको आईसीसी यु–१९ विश्वकप छनौट (एसिया) प्रतियोगितामा सहभागी हुने १४ सदस्यीय नेपाली टिमको पनि घोषणा गरीएको छ । यु–१९ टिमका प्रशिक्षक बिनोद दास, राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र आईसीसी डेभलपमेन्ट अफिसर भेन्कटपथी राजु सम्मिलीत समितिले टोलीको छनौट गरेको हो ।
भारत जानु अघि १८ जना खेलाडीको चयन गरिएको थियो जसमा रहेका सन्दिप जोरा, बिक्रम भुसाल, रसिद खान र सुशान्त सिंह थापाले अन्तिम १४ मा नाम निकाल्न असफल रहे ।
विश्वकप छनौटमा १४ खेलाडीहरु छनौट भएका छन् । खेलाडीहरु सन्दिप लामिछाने, अनिल कुमार शाह , किशोर महतो, प्रकाश केसी, पवन सर्राफ, रिजन ढकाल, प्रनित थापा, शाहब आलम, आसिफ शेख, सन्दिप सुनार, ललित राजबंशी, रोहित पौडेल, आदील खान र दिपेन्द्र ऐरी रहेका छन् । तिब्र गति बलर किशोर महतोले पनि नाम लेखाएका छन् । विकेटकिपरको रुपमा प्रकाश केसी र आसिफ शेख अन्तिम १४ मा छन् जसमध्ये प्रकास केसीले प्रतियोगितामा विकेटकिपरको भूमिका निर्वाह गर्ने छन् ।
अभ्यास खेलमा पवन सर्राफ र रोहित पौडेलले आफ्नो अलराउण्ड खेलले प्रभावित बनाएका थिए भने सन्दिप सुनार, दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, अनिल साह जस्ता ब्याट्सम्यानहरुले पनि आफुलाई प्रमाणित गर्न सफल भए । यु–१९ बिश्वकप छनौटमा ओपनिंग ब्याट्सम्यानको जिम्मा आसिफले पाए भने लयमा साथ दिन सन्दिप सुनार चुनिए । देब्रे हाते ब्याट्सम्यान आदील खानले नेपाली टिमको मध्येक्रम सम्हाल्नेछन् ।
अन्तिम १४ मा देब्रे हाते स्पिनरको रुपमा शाहब आलम र ललित राजबंशी चुनिएका छन् । तीन साताअघि भारत पुगेको नेपाली टोलीले दिल्लीमा ५ खेल खेलेको थियो जसमध्ये ३ खेलमा नेपालले वर्चस्व जमाउन सफल भयो । नोयडासँग नेपालले दुई चोटी अभ्यास खेल खेल्यो जसमध्ये चौथो खेल वर्षाले प्रभावित भएको थियो ।
विश्वकप छनौट एसिया प्रतियोगितामा नेपाल सहित आयोजक सिंगापुर, मलेसिया र अफगानिस्तान सहभागी हुनेछन् जसमा प्रत्येक टिमसंग नेपाललाई २–२ वटा खेल खेलाइने छ । उक्त प्रतियोगितामा बिजेता हुने टोलि न्युजिल्याण्डमा जनवरीमा आयोजना हुने यु–१९ बिश्वकपमा सिधै छनौट हुन सफल हुनेछ ।