यस्तो कार्वाही जहाँ एकैपटक ७ हजार कर्मचारी बर्खास्त

639
views

एजेन्सी । टर्कीमा गत वर्ष भएको असफल सत्तापलटको प्रयास एक वर्षपछि प्रहरी, मन्त्रालयका अधिकारी, कर्मचारी र शिक्षकसहित करिब ७ हजार बर्खास्तगीमा परेका छन् ।
यो कारबाही न्यायपालिका, प्रहरी र शिक्षासँग जोडिएका सरकारी संस्थाहरुलाई शुद्धिकरण गर्ने कदमका रुपमा ब्याख्या गरिएको छ । गत बर्षको जुलाई १५ मा सैनिकको एउटा समूहले मध्यरातमा सत्ता पल्टाउने प्रयास गरेपनि असफल भएको थियो । सो क्रममा २ सय ५० जनाको मृत्यु भएको थियो ।
राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई सत्ताबाट हटाउने उद्देश्यले उनी विदा मनाउन गएका बेला भएको सो ‘कु’ को प्रयासमा निर्वा्सित धार्मिक नेता फतउल्लाह गुलेनको संलग्नता रहेको टर्कीले आरोप लगाउँदै आएको छ ।
हाल अमेरिकामा बस्दै आएका गुलेनले भने त्यसमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । उनलाई टर्कीले फिर्ता पठाउन गरेको आग्रहमा अमेरिका मौन बस्दै आएको छ ।
टर्कीमा हाल बर्खास्त गरिएकामध्ये २ हजार ३ सय ३ प्रहरी, ३ सय २ शिक्षक, ३ सय ४२ सेवानिबृत्त कर्मचारी र सैनिक रहेका छन् । सत्तापलटको कोशिसपछि टर्कीले एक वर्षको अवधिमा डेढ लाख कर्मचारीलाई बर्खास्त गरेको छ भने ५० हजारलाई पक्राउ गरेको छ ।