बम समात्ने हवल्दारलाई असईमा बढुवा गरिने

398
views

काठमाण्डौ, ३, श्रावण । निर्वाचन बिथोल्न अज्ञात समूहले प्रहार गरेको बम जोखिम मोलेर हातैमा समाई फाल्ने प्रहरी हवल्दार दूर्गाबहादुर रानालाई बढुवा गरिने भएको छ ।
राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने, प्रोत्साहित गर्ने नीतिअनुसार नै रानालाई हवल्दारबाट असईमा बढुवा गर्न लागेको गृहमन्त्री जनार्दन शर्माले खुलासा गरेका छन् । रानाले दोस्रो चरण निर्वाचनको क्रममा दाङको तुल्सीपुरस्थित अम्वास मतदान केन्द्रलाई लक्षित गरी प्रहार भएको बम हातमै समाएर फालेका थिए । उनको साहसी कामका कारण ठूलो दुर्घटना टरेको थियो ।
गृहमन्त्रीले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र जिम्मेवारी पूरा नगर्नेलाई तीन महिनाभित्रै कारबाही गर्ने नीति आफ्नो भएको बताएका छन् । गृहमन्त्रीले आफ्ना लागि प्रहरी प्रशासनमा कोही हाम्रा नभएको भन्दै राम्रा छान्ने र जनताको सेवामा प्रहरी संगठनलाई प्रभावकारी बनाउने विश्वास दिलाए ।