दोक्लमनजिकै चीनले सैन्य अभ्यास गर्यो

671
views

काठमाण्डौ, ३, श्रावण । चीन, भुटान र भारतको त्रिदेशीय सीमाक्षेत्र दोक्लममा जारी सीमा विवादका बीच चिनियाँ सेनाले तिब्बतमा सैन्य अभ्यास गरेको छ । ११ घण्टा लामो सो सैन्य आक्रमणको अभ्यासलाई चीनको भारतलक्षित चेतावनीका रुपमा हेरिएको छ ।
अभ्यासमा विमान र ट्यांक ध्वस्त पार्ने अभ्यास गरिएको थियो। चिनियाँ सञ्चारमाध्यमका अनुसार सैनिकहरुले एन्टी ट्यांक ग्रिनेड, बंकर ध्वस्त पार्ने मोर्टार, आदिको प्रयोग गरेका थिए ।
सिसिटिभीले दिएको विवरणअनुसार वास्तविक हतियारको प्रयोग गरी चिनियाँ सेनाले सो अभ्यास गरेका हुन् । सो अभ्यासमा एउटा सिंगो ब्रिगेडले भाग लिएको थियो। भिडियोमा सैनिकहरुले मेसिन गन, रकेट लञ्चर र मोर्टारको प्रयोग गरी आक्रमणको अभ्यास गरेको देखिएको थियो। अभ्यासमा ४ हजारभन्दा बढी सैनिकले सहभागिता जनाएका थिए ।
‘विभिन्न तत्वलाई समेटेर गरिएको ११ घण्टा लामो सो अभ्यास जनमुक्ति सेनाको आक्रमण क्षमताको प्रमाण हो ।’ सो अभ्यासमा भाग लिएका चिनियाँ सेना पूर्वी तिब्बतको लिन्झी क्षेत्रमा तैनाथ गरिएको जनाइएको छ । सो अभ्यास कहाँ र कहिले गरिएको भन्ने स्पष्ट नपारिएको भए पनि भारतलाई दिइएको चेतावनीको रुपमा विश्लेषण गरिएको छ । गत जुन १६ यता जारी दोक्लम विवादपछि चीन र भारतबीच सैन्य शत्रुता बढेर गएको छ। दोक्लममा भारतीय सेना सीमा पार गरी आफ्नो क्षेत्रमा आएको आरोप चीनले लगाएको छ भने भारतले आफ्नो सुरक्षालाई खतरामा पार्नेगरी चिनियाँ पक्षले सडक निर्माण गरेको आरोप लगाउँदै आएको छ । भारतले सो स्थानबाट आफ्नो सेना फिर्ता नगरुञ्जेल यस विषयमा वार्ता नगर्ने अडान राख्दै आएको चीनले सैनिक फिर्ता नगरिए भारतले लाजमर्दो परिस्थितिको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।हालै राजधानी बेइजिङस्थित विदेशी कूटनीतिज्ञहरुलाई पनि दोक्लम विवादबारे चीनले जानकारी गराएको बताइएको छ। चीनले जि २० राष्ट्रसहितका कूटनीतिक प्रतिनिधिहरुलाई चिनियाँ सेना धैर्यतापूर्वक भारतीय सेना पछि हट्ने समयको प्रतीक्षा गरिरहेको तर त्यो धैर्यता लामो समय नरहने जानकारी गराएको बताइएको छ।
हालै भारतले पनि अमेरिका र जापानसँग बंगालको खाडीमा संयुक्त सैन्य अभ्यास गरेको थियो। सो अभ्यासमा तिनै देशका विमानवाहक जहाज सहभागी भएका थिए । यसैबीच मंगलबार चिनियाँ सेनाको रकेट आक्रमणमा परी १५८ भारतीय सैनिकको मृत्यु भएको झुठो समाचार फैलिएपछि चीनले त्यसको खण्डन गरेको छ । पाकिस्तानको दुनियाँ न्युजले बिनास्रोत यस्तो समाचार प्रकाशन गरेपछि यो समाचार फैलिएको थियो ।