यसकारण लचक बने कतारमाथि नाकाबन्दी लगाउने राष्ट्रहरु

606
views

एजेन्सी । कतारमाथिको नाकाबन्दीबाट अपेक्षित नतिजा हात नपरेपछि नाकाबन्दी लगाउने राष्ट्रहरुले नै लचकता अपनाउने संकेत देखाएका छन् । साउदी अरब, बहराइन, इजिप्ट र युएइका राजदूतहरुले सौहार्द्रपूर्ण ढंगले संकट समाधान गर्न चाहेको बताए ।
‘हाम्रो लक्ष्य भनेको कूटनीतिक समाधानसम्म पुग्नु हो,’ युएइको संयुक्त राष्ट्रसंघीय मिसनमा आयोजित एक पत्रकार सम्मलेनमा राष्ट्रसंघका लागि साउदी अरबका राजदूत अब्दुल्ला बिन याया अल्मुलिमीले भने । उनले यसमा कतार पनि सहमत हुने अपेक्षामा आफूहरु रहेको समेत बताए । सो पत्रकार सम्मेलनमा कूटनीतिज्ञहरुले नाकाबन्दी लगाउने प्रमुख चार राष्ट्रले कतारसामु राखेको १३ सर्तमा अब कायम नरहेको बताए । नाकाबन्दी फुकुवाका लागि कतारले अल जजिरा बन्द गर्नुपर्ने, टर्कीको सैन्य आधारशिविर हटाउनुपर्ने, इरानसँगको सम्बन्ध टुटाउनुपर्ने लगायतका सर्त १० दिने अल्टिमेटमसहित अघि सारेका थिए । तर कतारले नाकाबन्दीकर्ता राष्ट्रहरुको सर्त तथा अल्टिमेटमलाई पूर्णतया अस्वीकार गरिदिएको थियो । इरान तथा टर्कीजस्ता क्षेत्रीय शक्तिसँग कतारको सम्बन्ध अझ गहिरो बनेपछि नाकाबन्दी असफल भएको विश्लेषण हुन थालेको थियो । यसै सन्दर्भमा संकटको सहज समाधानका लागि नाकाबन्दीकर्ता राष्ट्रहरुले आफ्नो सर्तलाई खुकुलो बनाउने प्रयास गरेका छन् । उनीहरुले आतंकवादलाई निरुत्साहित गर्ने, अन्य राष्ट्रहरुप्रति घृणा फैलाउने कार्य रोक्नेजस्ता ६ ओटा फराकिलो विषयवस्तुमा सहमत हुन कतारलाई आग्रह गरेका छन् ।
कतारी राजदूतले १३ सर्तमा तलमाथि गर्न सकिने पनि बताए । यद्यपि ती राष्ट्रले पछिल्लो ६ सिद्दान्तमा कुनै सम्झौता नहुने र नाकाबन्दी पूर्वको अवस्था फिर्ता नआउने पनि स्पष्ट पारे । युएइले कतारको सरकारी सञ्चारमाध्यम आफूले ह्याक गरेको आरोप पनि अस्वीकार गरेको छ । हालै अमेरिकी गुप्तचर संस्थाको हवाला दिँदै युएइले कतारी सञ्चारमाध्यमको सोसल मिडिया साइट ह्याक गरी झुठो सूचना राखेको रिपोर्ट प्रकाशित भएको थियो । उक्त झुठो समाचारमा गत मे महिनामा कतारी शेख तमिम बिन हमाद अल थानीले इरानलाई समर्थन गरेको र अन्य छिमेकीको विरोध गरेको बताइएको थियो ।
वाशिंटनपोस्टमा प्रकाशित रिपोर्टअनुसार त्यो ह्याकिङको योजनाबारे युएइका सरकारी अधिकारीहरुले मे २३ का दिन छलफल गरेको अमेरिकी गुप्तचर संस्थाहरुले पुष्टि गरेका छन् । सो ह्याकिङ मे २४ का दिन भएको थियो र त्यसलगत्तै कतारसँग उसका छिमेकीहरुको सम्बन्ध बिग्रेको थियो ।