बजेट विनियोजन रुख बिरुवा रोप्न, तारजाली लगाईन्छ पहिरो छेक्न

365
views

महेन्द्र जिसी
पर्वत, ५, श्रावण । सडक निर्माण वा मर्मत गर्दा कुल लागतको ५ प्रतिशत बजेट वातावरणीय सन्तुलन कायम राख्न विनियोजित गरिन्छ । उक्त रकम बायो ईन्जिनियरीङ मार्फत वातावरण सन्तुलत कायम राख्न र पहिरो रोकथामका लागि जिल्ला परिषद मार्फत विनियोजित हुन्छ । तर विनियोजित रकमकाबारे जिल्ला समन्वय समिति र उपभोक्ता दुबै वेखबर बनेका छन् ।
वर्षेनी छुटयाइएको लाखौ बजेट कहाँ र कसरी खर्च हुन्छ यसबारे वातावरणीय क्षेत्रको बजेटको सहि सदुपयोग भएको छ वा छैन् अनविज्ञता रहेको छ । आयोजनाको कुल लागतको पाँच प्रतिशत बजेटले वातावरणीय कार्यक्रम अन्तर्गत हरियाली गराउने भनिएतापनि जिल्लाका कुनै पनि आयोजनाहरुमा यो कार्यक्रम लागू भएको छैन । जिल्लाका हरेक सडकमा वातावरणीय सुधारका लागि बजेट विनियोजन भएपनि जिल्लाका कुनैपनि सडकका छेऊमा रुखबिरुवा रोपेको पाईदैन् । नयाँ सडक तथा पुराना सडकको स्तरोन्नतीका लागि हरेकवर्ष परिषदमा वातावरणीय कुरा उठ्ने गरेपनि कार्यान्वयनमा नदेखिने गरेको हो । जिल्लाका साना तथा ठुला सडकमा वातावरणीय मुल्याङ्कन नगरी खनिने हुँदा निर्माण चरणमै पहिरो जाने सम्बन्धित निकायले स्विकार गर्दछ । वर्षादको समयमा देखाउन र बजेट सक्ने गरेको कामले सडकमा जाने पहिरोबाट स्थानीयले जोखीम मोल्नुपरेको छ ।
सडकमा रुख रोपिदैन् तर तारजाली भरेर रोकथामको अभ्यास गर्दै आएका कारण वातावरणीय क्षेत्रको बजेट कार्यान्वयनमा आउँदैन् । जिल्ला ईन्जिनियर लक्ष्मी भण्डारी भन्छन् ‘रुख रोपेर पहिरो रोकथाम गर्न सकिन्छ भन्नेबारे कर्मचारी र उपभोक्तालाई जानकारी नभएका कारण सडकमा वातावरणीय कार्यक्रम लागू भएको छैन् ।’
बर्षेनी लाखौ रुपैयाँ बजेटले विरुवा उत्पादन गरेर वातावरण जोगाउने र हरियाली बढाउने काम गर्र्दै आएको जिल्ला वन कार्यालय पर्वतले समेत रुख रोपेर पहिरो रोकथाम गर्न सकिने बारे कर्मचारीहरुलाई जानकारी गराउन सकेको छैन । जिल्ला वन अधिकृत कृष्ण ढकालले जिल्ला समन्वय समितिकौ वैठकमा विरुवा रोपेर पहिरो रोकथाम हुने कुरा उठने गरेको भएपनि कार्यान्वयनमा नआएको बताए । विरुवा हुर्काउने र सडक खन्ने निकायसँगको सहकार्यको अभाव र हरेक वर्ष वातावरणीय क्षेत्रमा विनियोजन गरेको बजेटको खोजी नहुँदा खनिएका सडकहरुमा पहिरोको जोखिम बढेको छ ।