प्राचीनकालदेखि कै समृद्ध संस्कृतिः मैथिल महिलाको मधुश्रावणी पर्व

1091
views

वीरगञ्ज, १०, श्रावण । हरेक वर्ष साउन महिनाको श्रावण कृष्णपक्ष (मौना) पञ्चमी तिथिदेखि श्रावण शुक्ल तृतीयासम्म मनाइने मधुश्रावणी पर्व प्रदेश नं २ को आर्थिक नगरी वीरगञ्जमा पनि धुमधामका साथ मनाइँदैछ । मिथिलाञ्चल प्राचीनकालदेखि नै समृद्ध संस्कृतिका रुपमा विशिष्ट स्थान ओगटेको क्षेत्र हो । मिथिला जनकहरुबाट शासित क्षेत्र हो । करिब चार हजार वर्ष पुरानो मानिने हिन्दूहरुको बृहत् ग्रन्थ ‘महाभारत’मा समेत मिथिला संस्कृतिका बारेमा स्पष्ट रुपमा उल्लेख गरिएको पाइन्छ । अर्का्तिर करिब अढाइ हजार वर्षपूर्वको ‘वाल्मीकि रामायण’मा पनि मिथिला सं

स्कृतिबारे उल्लेख गरिएको साहित्यकारहरु बताउँछन् ।‘महाभारत’ र ‘वाल्मीकि रामायण’ले विशेष गरी राजा जनकको धार्मिक ऐतिहासिक तथा पवित्र नगरी मिथिलाञ्चल क्षेत्रलाई प्रतिनिधित्व गर्ने भएकाले यहाँका शहरदेखि गाउँसम्म फैलिएको मैथिली भाषाभाषीका परिवारमा धार्मिक तथा सामाजिक अनुष्ठानका रुपमा नवविवाहित महिलाले मधुश्रावणी पर्व मनाउने परम्परा रहिआएको छ ।
मिथिला संस्कृतिमा एउटा आफ्नै किसिमको विशिष्टता, आदर्श र वैभवता भएको हुनाले मैथिली नारीको जीवन पद्धतिसँग जोडिएको मधुश्रावणी पर्वलाई पनि महत्वपूर्ण पर्वका रुपमा मनाउने परम्परा छ । आर्य समाजको आगमनदेखि चलिआएको यस पर्वलाई आफ्नो धर्म, संस्कृति, परम्परा तथा सुखद् दाम्पत्य जीवनप्रति समर्पित हुन महत्वपूर्ण पर्वका रुपमा लिने गरिन्छ ।
मिथिला समाजमा प्रचलित पर्व र व्रत केवल हास र उल्लासको पूर्णताका लागि मात्र नभएर मानिसको जीवन शक्ति र अस्तित्वसँग कुनै न कुनै रुपमा जोडिएको हुन्छ । प्रत्येक पर्वले आफ्नो सांस्कृतिक स्थितिलाई बलियो बनाउने तथा जीवनको पवित्रतामा हर्षोल्लास कायम गर्न सन्देश दिने गर्छ । जीवनमा विवाह एक पटक हुन्छ र पूरै वैवाहिक जीवनमा पहिलो वर्ष बेहुलीका लागि अग्नि परीक्षाका रुपमा लिइन्छ जसलाई अनिवार्य रुपमा भव्यतापूर्वक विधिवत् मनाउने गरिन्छ ।
यस पर्वले एकातिर मैथिल संस्कृतिलाई संरक्षण प्रदान गर्छ भने अर्का्तिर दाम्पत्य जीवनको आधार शिलालाई बलियो बनाउने गर्छ । मिथिलाञ्चलको एक गौरवशाली संस्कृति तथा पर्वमध्ये मधुश्रावणी पर्वलाई एउटा बेग्लै दृष्टिकोणले हेर्ने गरिन्छ । पन्ध्र दिनसम्म मनाइने यस पर्वको प्रमुख विशेषता भनेको पतिपत्नी बीचमा हुने रागअनुराग, प्रेमप्रणय तथा दाम्पत्य जीवनलाई सुुदृढीकरण गर्नु हो ।
नवविवाहित वर र कन्याका लागि मधुश्रावणी पर्व अति महत्वपूर्ण र संवेदनशील मानिन्छ । यसले वर र कन्याको भावनात्मक र शारीरिक सम्बन्ध दुवैलाई प्रगाढ बनाउने गर्छ । पतिपत्नीबीचको अन्तरसम्बन्धलाई यस पर्वले प्रगाढ मात्र बनाउँदैन, अलौकिक आनन्द र प्रणयको समेत अवसर प्रदान गर्छ । यस पर्वका अवसरमा विषहरा(नाग) तथा शिवपार्वतीको पूजा गर्ने क्रममा वर्तालु महिलाद्वारा कथा सुनाइन्छ ।
यस पर्वमा नवविवाहित स्त्रीले खुलेरै घुमफिर गर्नाका साथै आफ्ना सखीलाई मुक्तकण्ठले आफ्नो पतिका बारेमा खुलेर प्रशंसा गर्छन् । यस पर्व कायस्थ र ब्राह्मण जातिको मुख्य पर्व भए पनि कालान्तरमा आएर सोनार, देव, आदि जातजातिका महिलाले समेत मनाउने गर्छन् । यस पर्वको अन्तिम दिन नवविवाहित कन्यालाई टेमी दिने प्रथा अति महत्वपूर्ण रुपमा लिने गरिन्छ जसमा बेहुलीको घुँडामाथि पानको पात राखेर बलिरहेको बत्तीले डाम्ने गरिन्छ । यस पर्वमा वर्तालुले २४ घण्टामा एकचोटि मात्र खाना खान्छन् ।
यस प्रथालाई कहीँकहीँ महिला अधिकारवादीले प्रताडनाका रुपमा लिए तापनि नवविवाहित महिलाका लागि अग्निपरीक्षा हो । कालान्तरमा आएर टेमी परम्परालाई गलत तरिकाले परिभाषित गरिए पनि यो एउटा सुखदायी आनन्दको अनुभूति पनि हो । यसले नवविवाहितको सहन सक्ने क्षमता जाँच्दछ । टेमीमा हुने पीडाका विषयमा व्रती सुधा कर्ण भन्नुहुन्छ, “मैले त आजसम्म टेमी दिँदाखेरि पीडाको अनुभूति गरेकी छैन ।” यो प्रथा महिलाप्रतिको हिंसा नभएर आफ्नो संस्कृतिलाई निरन्तरता दिने परम्परा मात्र भएको उहाँले बताउनुभयो । प्रेम, उन्माद र सांस्कृतिक पर्वका रुपमा रहेको मधुश्रावणी पर्वलाई गलत रुपमा व्याख्या नगरी यसको माधुर्य, सौन्दर्य र विशेषतालाई जीवन्तता प्रदान गरी यसको संरक्षण गर्नु आवश्यक रहेको मैथिली साहित्यकार बताउँछन् ।