एमालेले टुङ्ग्यायो ११ जिल्लामा समन्वय परिषद प्रमुख तथा उपप्रमुख

1258
views

काठमाण्डौ, १५, श्रावण । एमालेको स्थायी समिति बैठकले ११ जिल्लामा जिल्ला समन्वय परिषदका प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरु टुंग्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा आइतबार बसेको बैठकले पार्टी जिल्ला तथा प्रदेश कमिटीको सिफारिसमा १४ जिल्ला समन्वय समितिको उम्मेदवारी टुंग्याएको बैठकपछि एक विज्ञप्ति जारी गर्दै पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी गराएका छन् । बैठकले जिल्ला समन्वय परिषदका लागि रामेछापमा प्रमुखका लागि प्रेमबहादुर खड्का तथा उपप्रमुखमा दीपा पाख्रिन, रसुवामा क्रमशः कुलप्रसाद भट्ट तथा छोपेमा तामाङ्नी, मकवानपुरमा रघुनाथ खुलाल तथा भगवती पुडासैनी, भक्तपुरमा नवराज गेलाल तथा सरिता कुँवर, कालिकोटमा प्रेमबहादुर शाही तथा सरिता आचार्यको उम्मेदवारी रहने निर्णय गरेको छ ।
यस्तै, जाजरकोटमा गोरे कार्की तथा कमलादेवी शाही, सुर्खेतमा टोपबहादुर राजकोटी तथा दीपा मल्ल, मुगुमा पूर्णबहादुर रोकाय तथा कर्णशीला मल्ल, खोटाङमा बबी चाम्लिङ तथा गोमा खत्री, इलाममा गणेश बराल तथा चित्रकला बराइली, बझाङमा खड्गबहादुर खड्का तथा भागिरथी अवस्थी जोशीलाई क्रमशः प्रमुख र उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यसैगरी, एमालेले डोल्पा र कालिकोटमा प्रमुख तथा सल्यानमा उपप्रमुखका उम्मेदवार मात्र सार्वजनिक गरेको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हालै भएको उनको मित्रराष्ट्र चीनको तिब्बत र मानसरोबर भ्रमणका बारेमा जानकारी गराएका थिए ।
‘बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हालै मित्रराष्ट्र चीनको तिब्बत र मानसरोबर भ्रमणका क्रममा चीनियाँ कम्युनिष्ट पार्टी तथा चिनियाँ सरकारका प्रतिनिधिहरुसंग भएको भेटघाटका क्रममा भएका विषयवस्तुहरुको बारेमा बैठकलाई जानकारी गराउनुभयो’, विज्ञप्तिमा भनिएको छ,‘त्यसक्रममा अध्यक्ष कमरेडले लामो समयदेखि नेपाल र चीनका बीचमा ब्यापारिक सम्बन्ध कायम रहेको सिन्धुपाल्चोकको तातोपानी नाका पुनः सञ्चालन गर्न चिनियाँ सरकारको ध्यानाकर्षण गराउनुभयो, त्यस सन्दर्भमा चीन सरकारको सकारात्मक सोच रहेको कुरा अध्यक्षलाई जानकारी गराउनुभएको थियो ।’ बैठक पुनः सोमबार ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने जनाइएको छ ।