युद्वस्तरमा निर्वाचन अभियान चलाउन प्रचण्डको निर्देशन

माओवादी केन्द्र २ नम्वर प्रदेशको प्रशिक्षण जनकपुरको जानकी पाटी प्यालेसमा

617
views

नवदृष्टि संवादादाता
धनषा, १६, श्रावण । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नं २ मा हुने निर्वाचनमा सफलता हासिल गर्न युद्वस्तरमा निर्वाचन अभियान चलाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्ष दाहालले प्रदेश नं २ को प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै यस्तो निर्देशन दिएका हुन् । अध्यक्ष पुष्पकमल दाहालले २ नम्वर प्रदेशमा माओवादी केन्द्र पहिलो बन्ने आधार, पृष्ठभूमि र सम्भावना रहेको भन्दै माओवादी केन्द्रलाई पहिलो बनाउन निर्वाचन अभियान युद्धस्तरमा चलाउनुपर्ने बताए ।
दाहालले अन्य पार्टीहरुले माओवादी केन्द्र उपर भ्रमको खेती गरेको भन्दै पार्टीले स्थानीय तहको निर्वाचन देखी पछिल्ला राजनीतिक घटना क्रमका भ्रम चिर्दै सत्य स्थापित गरिछाडेको दाबी गरे । अध्यक्ष दाहालले हिटलर राष्ट्रवादको नाराले जर्मनीको सत्तामा हाबी भएको उदाहरण प्रस्तुत गर्दै नेपालमा नश्लवादी राष्ट्रवादले अन्तत जाति जातिलाई लडाउने, राष्ट्रिय एकतालाई कमजोर बनाउने र अन्धराष्ट्रवादले अन्तिममा फासीवादमा बदल्ने अभ्यास गर्न खोजेको बताए । दाहालले माओवादी नश्लवादी, जातिवादी र अन्धराष्ट्रवादी नभएको बताउँदै उत्पीडितहरुको बलियो एकतामार्फत् राष्ट्रिय एकता र सद्भाव स्थापित गर्ने दिशामा अगाडी बढेको बताए । दाहालले मधेशी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाममा हिटलरहरु जन्मन खोजेको भन्दै एउटा जातिलाई काखी च्यापेर अरु जातिमाथि प्रहार गर्ने काम भैरहेको प्रति सचेत हुन आग्रह गरे ।
प्रशिक्षण कार्यक्रममा बोल्दै नेता रामबहादुर थापा बादलले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश भएको र माओवादीले एकल जाति, भाषा, लिङ्ग र क्षेत्रको निरङ्कुश सत्ता ढालेर जनताको संघीय गणतन्त्र ल्याएको बताएका छन् । थापाले राजनीतिक दृष्टिले मधेश स्वायत्त प्रदेश बनिसकेकोले असोज २ को चुनावपछि त्यसले बैधानिकता पाउने बताए । उनले नयाँ एकता हासिल गर्न सके २ नम्वर प्रदेशमा माओवादी केन्द्र पहिलो हुने दाबी गरे ।
प्रशिक्षण कार्यक्रममा बोल्दै माओवादी नेता नारायण काजी श्रेष्ठले प्रदेश नं २ सामन्तवादको गढ भएको औल्याउँदै जमिन्दारहरुको बोलवाला भएको ठाउँमा माओवादीले जिते यसलाई बदल्ने बताए । श्रेष्ठले क्रान्तिकारी उपलब्धिहरुको रक्षा गर्न माओवादी उम्मेदवारहरुले जित्न जरुरी रहेको बताए । नेता श्रेष्ठले नेपालको स्वाधिनता र भौगोलिक अखण्डताको पक्षमा सबैभन्दा बढी त्याग र बलिदान मधेशी जनताले गरेको बताउँदै नेपालमा गणतन्त्र, संघीयता, नयाँ संविधान लगायतका परिवर्तनको हकदार माओवादी केन्द्र भएको जिकिर गरे । उनले प्रदैश नं २ को निर्वाचनलाई कुनै शक्ति र षड्यन्त्रले रोक्न नसक्ने दाबी गरे । प्रशिक्षण कार्यक्रममा ८ जिल्लाका संयोजकहरुले रिर्पोटिङ्ग गरेका छन् । अधिकाँस जिल्ला संयोजकहरुको रिर्पोटिङमा मूख्य प्रतिस्पर्धी नेपाली कांग्रेस रहेको र केही स्थानमा मधेशवादी दल र एमाले प्रतिस्पर्धी भएको रिर्पोटिङ गरेका छन् । प्रशिक्षण कार्यक्रममा गीरिराजमणि पोखरेल, हरिबोल गजुरेल, प्रभु साह,उर्मिला अर्याल, विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, रामकुमार यादव, भरत साह र डाचाराज वाग्ले लगायतका नेताहरुको सहभागिता रहेको छ । उक्त अवसरमा राप्रपाका केन्द्रीय सदस्य रामचन्द्र मण्डल, नयाँ शक्ति नेपालका नेता विजयकुमार साह लगायत विभिन्न पार्टी परित्याग गरि ३०० जना नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई अध्यक्ष प्रचण्डले टिका खादा र अविर लगाएर स्वागत गरेका थिए । असोज २ गते २ नम्वर प्रदेशमा निर्वाचन हुँदैछ ।