पर्वतको दशहजार हेक्टर जमिनमा सिञ्चाईको पहुँच

303
views

महेन्द्र जिसी
पर्वत । जिल्लामा सञ्चालित नौ वटा आयोजना सम्पन्नको चरणमा पुगेसँगै खेतीयोग्यजमीनको क्षेत्रफलमा वृद्धि भएको छ । सिंचाई डिभिजन कार्यालयमार्फत निर्माणको चरणमा रहेका विभिन्न आयोजनाबाट २७ सय ७ हेक्टर खेतियोग्य जमिन सिञ्चित हुने भएको छ । ‘सिमित जनशक्तिलाई भरपुर उपयोग गरेर पनि धेरैजसो आयोजनाको प्रगति सन्तोषजनक रुपमा सम्पन्नको चरणमा पुगेको कार्यालयले कार्यालयको भनाई छ । सव डिभिजन प्रमुख राजेन्द्र श्रेष्ठले चालु वर्षमा सञ्चालित आयोजना मार्फत चारहजार ४९ परिवारको एक हजार २ सय ७७ हेक्टर जमिनमा सिंचाई हुने बताउनु भयो ।
सिंचाई विकास सव–डिभिजन कार्यालयको सक्रियतामा पैयूँ ३ बेउलीबासका ९ सय ८० घरधुरीले यसै वर्ष सम्पन्न आयोजना मार्फत सुख्खा टारमा पनि धान रोपाई गरेका छन् । ४ वर्षअघि शुरु भएको ‘शिब्दी चिलुवा सिंचाइ योजना’ गत जेठको अन्तिम साता सम्पन्न भएपनि स्थानीयले यस वर्षको धान रोपाई गरेका हुन । मल्लाज सिंचाइ आयोजनाको पानी गाउँमा ल्याएपछि वरपरको सुख्खा टार हराभरा हुन थालेको छ । स्थानीय मोहन क्षेत्रीका अनुसार मल्लाज सिंचाई आयोजना सम्पन्न भएपनि मल्लाजको फाँटमा अहिले तीनखेती फल्न थालेको हो । पहिले कोदो रोप्ने जमिनमा अहिले तरकारी पकेट क्षेत्र बनेको क्षेत्रीले बताउनु भयो । जिल्लामा साना सिंचाई आयोजनाहरुबाट करिव १५ सय घरपरिवार लाभान्वित भएका छन् । २८ हजार ५ सय ९३ हेक्टर खेतियोज्य जमिन भएकोमा परम्परागत सिंचाई आयोजनाबाट सिंचित हुने जमिनको क्षेत्रफल नौ हजार ९ सय ४० हेक्टर रहेको हो । बाह्रै महिना सिंचित हुने जमिनको क्षेत्रफल सात हजार २ सय ९० हेक्टर रहेको सिंचाई कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
कार्यालयमार्फत सञ्चालित आयोजनाको काम सम्पन्न भएपछि बाह्रै महिना सिंचाई हुने जमिनको क्षेत्रफल करिव दुई हजार बढ्ने अनुमान गरिएको छ । कार्यालयमा न्यून जनशक्ति भएका कारण सञ्चालित परियोजनाहरुको नियमित निरिक्षण गर्न समस्या हुँदा अपेक्षित उपलव्धी हासिल हुन नसकेको सव–डिभिजनप्रमुख राजेन्द्र श्रेष्ठले बताउनु भयो ।