भरतपुर–१९ मा पुन:मतदान आज हुँदै

517
views

चितवन २०,श्रावण भरतपुर महानगरपालिका १९ नम्बर वडाको को पुनस् मतदान शुक्रबार हुँदै छ । कडा सुरक्षा व्यवस्थासहित निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । वडाका ६ वटा केन्द्रमा ३६ कर्मचारीसहित ठूलो संख्यामा सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका ४ सय ६१ जना, सशस्त्रका ३ सय जना र तेस्रो घेरामा सयभन्दा बढी संख्यामा सेना खटिएका छन् । छुट्टाछुट्टै मोबाइल टोलीको समेत व्यवस्था गरिएको छ ।

‘यो विशेष परिस्थितिमा हुन लागेको निर्वाचन हो,’ प्रजिअ नारायणप्रसाद भट्टले भने, ‘त्यसैले सबै बुथ संवेदनशील छन्, सुरक्षा व्यवस्था मजबुत बनाएका छौं ।’
‘वडामा बिहीबार साँझ ७ बजेबाट अघोषित रूपमा सवारी आवतजावत बन्द गराएका छौं,’ जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले भने, ‘प्रत्येक केन्द्रमा प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ ।’ उनले सुरक्षा चुनौती मध्यनजर गर्दै कडा पारिएको जानकारी गराए ।
मतदान अवलोकनका लागि निर्वाचन आयुक्त ईश्वरी पौडेल र अनुगमनका लागि सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे बिहीबारै जिल्ला आएका छन् । बिहीबार दिनभर वर्षाले अवरोध गरे पनि साँझपख थामिएपछि
कर्मचारी र सुरक्षाकर्मी मिलेर बुथ बनाइसकेका छन् । मतदानका दिन वर्षाले असर नपुर्यारओस् भनेर बुथमा पालसमेत हालिएको छ ।
सबै केन्द्रमा मतपत्र, मतपेटिकालगायत सामग्री सबै पठाइसकिएको निर्वाचन कार्यालयले जनायो । ‘कर्मचारीदेखि आवश्यक निर्वाचन सामग्री पठाइसकिएको छ,’ सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले भने, ‘अब मतदान हुन मात्र बाँकी छ ।’ उनका अनुसार शारदा मावि ‘क’ मतदान केन्द्रमा ६ सय ४४, ‘ख’ मा ५ सय ९९ मतदाता छन् ।
त्यस्तै जीवनज्योति आधारभूत विद्यालयको ‘क’ मतदान केन्द्रमा ६ सय ७२, ‘ख’ मा ६ सय ३४ मतदाता छन् । किरण माविको ‘क’ मा ६ सय ४४ र ‘ख’ मा ६ सय ४ मतदाता छन् । १९ वडामा ३ हजार ७ सय ९७ मतदाता छन् ।
वर्षाले मतदान नबिथोलियोस् भनेर प्रत्येक केन्द्रमा पाल व्यवस्था गरिएको प्रजिअ भट्टले जानकारी दिए । घरबाट आउँदा मतदातालाई असुविधा भए पनि केन्द्रमा नभिज्ने व्यवस्था मिलाइएको उनले जनाए ।
वैशाख ३१ को चुनावमा उक्त वडामा २ हजार ८ सय ९७ मत खसेको थियो । गणना क्रममा जेठ १४ गते मतपत्र च्यातिएपछि अन्योल छाएको थियो । माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निकै दिन लगाएर निर्वाचन आयोगले पुनस् मतदान गर्ने निर्णय लिएको थियो । तर पुनस् मतगणनाको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले पनि आयोगकै निर्णयअनुसार फैसला गरेपछि पुनस् मतदान गर्न लागिएको हो । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले शुक्रबारका लागि मतदान मिति तोकेको थियो ।
मेयरमा एमालेबाट देवी ज्ञवाली र माओवादी केन्द्रबाट रेणु दाहाल चुनावी प्रतिस्पर्धामा छन् । गणनाका क्रममा एमालेका ज्ञवालीले अग्रता लिएका छन् भने निकट प्रतिद्वन्द्वीका रूपमा माओवादीकी दाहाल छिन् । मतदान भइसकेका अन्य सबै वडाको गणना भइसके पनि २० नम्बर वडाको भने बाँकी छ ।