चुनावी प्रचार गर्न उमेदवारलाई ९ दिन मात्र

566
views

नवदृष्टि संवाददाता
काठमाडौं ,२९, चैत । स्थानीय तह निर्वाचनमा उम्मेदवारले निर्वाचन आयोगबाट चुनाव चिह्न पाएपछि मौन अवधि सुरु हुनुअघिसम्म बीचका दिनमा मात्र प्रचार गर्न पाउने भएका छन । उमेदवारले प्रचारप्रसारका लागि ९ दिन मात्रै पाउने भएका हुन् । उमेदवारले वैशाख १९ गते चिह्न पाउनेछन् भने चुनावको ४८ घण्टापूर्व नै मौन अवधि सुरु हुनेछ । मौन अवधिमा दल वा उम्मेदवारले प्रचारका कुनै काम गर्न पाउने छैनन् ।
‘२० देखि २८ गते राति १२ बजेसम्म मात्र उम्मेदवार र दलले प्रचारप्रसार गर्न पाउनेछन्,’ आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘स्थानीय तहका लागि यो अवधि पर्याप्त नै हो ।’ स्थानीय तह निर्वाचन ऐनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि बढीमा १५ दिन प्रचारप्रसारका लागि पाउनेछ । अघिल्लो स्थानीय निकायको निर्वाचनमा बढीमा ७ दिनको व्यवस्था थियो ।

वैशाख ३१ को चुनावका लागि वैशाख १६ देखि निर्वाचन कार्यक्रम सुरु हुनेछ । वैशाख १६ मा उम्मेदवारी मनोनयन, १७ गते उम्मेदवारीमाथि विरोध उजुरी, १८ गते उम्मेदवारको नामावली प्रकाशन र नाम फिर्ता लिने समय तोकिएको छ । १९ गते अन्तिम नामावली प्रकाशन र चिह्न प्रदान गर्ने कार्यतालिका छ । गाविस महासंघका अध्यक्ष घनश्याम खतिवडाले स्थानीय तहको क्षेत्रफल र संख्या बढेकाले ९ दिनको अवधि प्रचारका लागि कम भएको बताए । ‘एकदमै टाइट अवधि हो, मधेसतिर केही हदसम्म सम्भव होला । तर उम्मेदवारलाई पहाडी जिल्लामा सबैतिर पुग्न कठिन हुन्छ,’ उनले भने, ‘उम्मेदवारले मतदाता माझ पुग्ने विकल्प रोज्नुपर्छ । घरदैलो त सम्भव हुन्न ।’ यस्ता केही कठिनाइका बाबजुद २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचन सफल बनाउन सबै जुट्नुपर्ने उनले बताए ।

‘नयाँ संरचनामा प्रचारका लागि समय भ्याइनभ्याई हुनेछ,’ जिविस महासंघका पूर्वअध्यक्ष कृष्णप्रसाद सापकोटाले सुझाए, ‘नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले घरदैलोभन्दा पनि वडासभामा जोड दिनुपर्छ ।’